Categories: समाचार

सडकमा गीत गाएर जीवन धानेका जङ्गबहादुर दम्पतीले पाए आफ्नै घर, वर्षौँदेखिको आश्रयको सपना पूरा

गोरखा। वर्षौँसम्म गाउँ–सहरका सडकमा गीत गाएर जीविकोपार्जन गर्दै आएका गोरखाको पालुङटार नगरपालिका–४ ठाँटीचौरका जङ्गबहादुर घर्ती र उनकी श्रीमती सुनिता घर्तीको जीवनमा नयाँ मोड आएको छ। आर्थिक अभाव, शारीरिक असहजता र स्थायी आश्रयको अभावसँग लामो समय संघर्ष गरेका यो दम्पतीले अहिले आफ्नै घरको चाबी हात पारेका छन्।

पालुङटार नगरपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत पाँच लाख ८३ हजार रुपैयाँ लागतमा उनीहरूकै अंशबन्डाबाट प्राप्त जग्गामा सहज आवतजावत मिल्ने गरी घर निर्माण गरेर बुधबार हस्तान्तरण गरेको हो। दुई कोठा, भान्सा तथा शौचालय–स्नानघर सहितको घरले उनीहरूको वर्षौँदेखिको सुरक्षित आवासको सपना साकार बनाएको छ।

जङ्गबहादुर दृष्टिविहीन छन् भने उनकी श्रीमती सुनितालाई हिँडडुल गर्न कठिनाइ छ। २०७२ सालको भूकम्पले पुर्ख्यौली घर क्षतिग्रस्त बनाएपछि उनीहरू कहिले सडक किनार, कहिले भाडाको कोठा र कहिले अस्थायी बासमा बस्न बाध्य भए। आफ्नै जग्गा हुँदाहुँदै पनि आर्थिक अभावका कारण घर निर्माण गर्न नसक्दा उनीहरूको दैनिकी झन् कष्टकर बनेको थियो।

जङ्गबहादुरले मासिक चार हजार र सुनिताले दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँथे। तर त्यो रकमले दैनिक खर्च र उपचार धान्न पर्याप्त नहुँदा उनीहरू गाउँ–सहर डुल्दै गीत गाएर र सहयोग मागेर जीवन चलाउँदै आएका थिए। सडकमा गुञ्जिने उनीहरूको स्वरभित्र सुरक्षित घरको चाहना वर्षौँदेखि लुकेको थियो।

घर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विवश चिन्तन, उपप्रमुख वन्दना पाण्डेलगायत जनप्रतिनिधिको उपस्थिति थियो। घरको चाबी बुझ्दै जङ्गबहादुरले भावुक हुँदै भने, “हामीसँग जग्गा थियो, तर घर बनाउने अवस्था थिएन। नगरपालिकाले हाम्रो पीडा बुझेर आफ्नै जग्गामा घर बनाइदियो। अब हामी सुरक्षित रूपमा आफ्नै घरमा बस्न पाउने भएका छौँ। यदि घर वरिपरि घेराबार पनि गरिदिनुभयो भने अझ सहज हुनेछ।”

उपप्रमुख वन्दना पाण्डेका अनुसार आर्थिक अवस्था कमजोर भएका र विशेष सहयोग आवश्यक रहेका नागरिकलाई लक्षित गरी यो घर निर्माण गरिएको हो। घरको संरचना सहज रूपमा आवतजावत गर्न मिल्ने गरी तयार गरिएको उनले जानकारी दिइन्।

वर्षौँसम्म अस्थायी बास र अनिश्चित भविष्यसँग संघर्ष गरेका जङ्गबहादुर दम्पतीका लागि यो घर केवल चार पर्खालको संरचना होइन। यो उनीहरूको सुरक्षित जीवन, आत्मसम्मान र नयाँ आशाको प्रतीक बनेको छ। सडकमा गीत गाएर जीवन धानेका उनीहरूको कथा अब आफ्नै घरको आँगनबाट नयाँ सुरुवाततर्फ अघि बढेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago