राजनीति

झापा–५ मा ‘ओली भर्सेस बालेन’ सम्भावित भिडन्तले चुनावी सरगर्मी चुलिँदै

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशैभर बढ्दै जाँदा सबैको ध्यान पूर्वी नेपालको झापा क्षेत्र नम्बर–५ मा केन्द्रित भएको छ। नेकपा एमालेका अध्यक्ष तथा चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सम्भावित चुनावी भिडन्तको चर्चाले झापा–५ को राजनीतिक तापक्रम उच्च बनेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन झापा–५ मा उम्मेदवार बन्ने चर्चा चुलिँदै गएको छ। रास्वपाले बालेनलाई प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवारका रूपमा अघि सारेको छ। यसै सन्दर्भमा बालेनले सामाजिक सञ्जालमा लेखेको ‘शुभकामना सबैलाई, हामी आउँदै छौं’ भन्ने स्ट्याटसलाई झापा–५ बाट उम्मेदवारी दिने संकेतका रूपमा अर्थ्याइएको छ।
यदि बालेन झापा–५ को चुनावी मैदानमा उत्रिए भने यो प्रतिस्पर्धा केवल एक संसदीय सिटको हारजितमा सीमित रहने छैन। विश्लेषकहरूका अनुसार यो दुई पुस्ता, दुई फरक राजनीतिक शैली र भावी प्रधानमन्त्री को बन्ने भन्ने प्रश्नसँग जोडिएको निर्णायक लडाइँ बन्न सक्छ।

अंकगणितमा ओली बलियो, मनोविज्ञानमा बालेनको क्रेज

झापा–५ एमाले अध्यक्ष ओलीको सुरक्षित गढका रूपमा चिनिन्छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ओलीले ५२ हजार ३ सय ११ मत ल्याएर सहज जित हासिल गरेका थिए। त्यस निर्वाचनमा रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेल ११ हजार ७ सय ५९ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए भने कांग्रेस उम्मेदवारले २३ हजार ७ सय ४२ मत प्राप्त गरेका थिए। तथ्यांकले देखाउँछ—ओलीको मत रास्वपाको भन्दा करिब चार गुणा बढी थियो।

तर, बालेन पक्षको आत्मविश्वास २०७९ कै समानुपातिक मत र बदलिएको राजनीतिक परिदृश्यमा आधारित छ। प्रत्यक्षतर्फ तेस्रो भए पनि समानुपातिकतर्फ रास्वपाले झापा–५ मा १८ हजार २ सय ५ मत ल्याउँदै कांग्रेसलाई पछि पारेर दोस्रो शक्ति बनेको थियो। साथै, युवा पुस्तामा बढ्दो राजनीतिक चेतना र परम्परागत दलप्रतिको वितृष्णाले चुनावी समीकरण बदलिन सक्ने रास्वपा वृत्तको आकलन छ।

दुवैका लागि ‘गर या मर’ को चुनाव

यो निर्वाचन दुवै नेताका लागि अत्यन्तै निर्णायक मानिएको छ। ओलीका लागि यो चुनाव जित्नैपर्ने बाध्यता छ। जित हात परे पाँचौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ भने हारले उनको लामो राजनीतिक यात्रामा अनपेक्षित पूर्णविराम लाग्न सक्ने आँकलन छ। झापा–५ मा ओलीको हार एमालेका लागि पनि ठूलो राजनीतिक सन्देश हुने भएकाले पार्टीले यसलाई प्रतिष्ठाको विषय बनाउने निश्चित देखिन्छ।

अर्कोतर्फ, काठमाडौंको मेयर हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्न लागेका बालेनका लागि यो ‘करियर–डिसाइडिङ’ मोड हो। रास्वपा सभापति रवि लामिछानेको साथ र ‘बालेन म्यानिया’ को बलमा चुनावी मैदानमा उत्रिन लागेका बालेनले पराजय भोगेमा उनको प्रधानमन्त्री बन्ने आकांक्षामा सुरुवातमै ठूलो धक्का लाग्नेछ।

राजनीतिक विश्लेषकहरूका अनुसार संगठन, संरचना र पुरानो विरासतका हिसाबले ओली अझै सुरक्षित देखिन्छन्। तर राजनीति सधैं अंकगणितमा मात्र सीमित हुँदैन। ‘नो नट अगेन’ को नारा, युवा पुस्ताको विद्रोह र बालेनको व्यक्तिगत छविले झापाको मतपेटिकामा आँधी ल्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। यसको अन्तिम छिनोफानो भने आगामी २१ फागुनको मतगणनाले नै गर्नेछ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago