गोरखा, चैत २८ । पृथ्वीनारायण शाहबाट सुरु भएको राष्ट्र एकीकरणको अभियानलाई स्मरण गर्दै तेस्रो गोरखा जितगढी एकीकरण पदयात्रा २०८१ बिहीबारदेखि सुरु गरिएको छ । पदयात्रा गोरखादेखि तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवल उप–महानगरपालिका अन्तर्गत ऐतिहासिक जितगढी पुगेर २०८२ बैशाख ७ गते समापन हुनेछ ।
पदयात्राको सुरुवात गोरखा दरबार परिसरमा रहेको हनुमान चौताराबाट गरिएको हो । यस क्रममा पृथ्वीनारायण शाहले एकीकरणका लडाइँमा प्रयोग गरेका श्रीनाथ, कालिबक्स, बर्दबाणी, सबुज, पुरानो गोरख, तथा जितगढी युद्धमा सहभागी गुरुबक्स गुल्मका झण्डा, नेपालको राष्ट्रिय झण्डा र टर्च सहित ५३ जना नेपाली सेनाको टोलीलाई बिदाई गरिएको हो।
नेपाली सेनाको रिपुमर्दन गणको आयोजनामा सञ्चालित पदयात्रा स्थानीय तहहरुको सहकार्यमा सम्पन्न हुँदैछ । रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीका अनुसार ३०५.५ किलोमिटर लामो पदयात्रा नेपालको इतिहास, राष्ट्रिय एकता, र पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले गरिएको हो।
नेपालको संविधानले सेनालाई राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, र अखण्डताको रक्षा गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै, नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्कीले राष्ट्रियतालाई मजबुत बनाउने विभिन्न कार्यक्रम सेनाले सञ्चालन गरिरहेको बताए । साथै, यस कार्यक्रमले नेपाल राष्ट्रको गौरवसाली इतिहास र राष्ट्रिय एकिकरण अभियानलाई जनमानसमा दिर्घकालिन रुपमा जीवन्त राख्न कोसेढुङ्गा सावित हुँदै गइरहेको बताए ।
पदयात्रामा सहभागी सेनाको टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर राना मगर, गोरखा नगरपालिका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकर, र प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल लगायतले विदाई गरेका थिए।
कार्यक्रममा नगरप्रमुख कृष्ण रानाले नेपालको इतिहासमा जितगढी किल्ला एउटा एतिहासिक महत्वको किल्ला रहेको बताउँदै नेपाली सेनाको सक्रियतामा र गोरखा नगरपालिका लगाएत विभिन्न स्थानिय तहहरुको सहयोगमा जीवन्त बनाउन कोसिस गरेको बताए । उनले नेपालको इतिहासको पारम्भ गोरखाको राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको अभियान सुरु गरेको बताउँदै यस्ता कार्यक्रमले गोरखालाई केन्द्रविन्दु बनाउने विश्वास रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले पदयात्राले नेपाल राष्ट्रको गौरवशाली इतिहास र राष्ट्रिय एकिकरण अभियानलाई आम नागरिकको मानसपटलमा स्थापित गर्ने विश्वास व्यक्त गरे। साथै, उनले पदमार्गको कार्यक्रमले नयाँ पुस्तालाई मुलुक राम्ररी हाक्ने प्रेरण दिनुका साथै पर्यटन तथा आर्थिक, सामाजिक पूर्वाधार विकासमा समेत योग्दान पुग्ने बताए ।
यसअघि पनि नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म पृथ्वीनारायण शाहको पदचिन्ह पछ्याउँदै टर्च बालेर पदयात्रा गरेको थियो। गोरखा इतिहासको केन्द्र भएकोले सेनाले गर्ने यस्ता कार्यक्रमहरू गोरखाबाटै सुरु हुने परम्परा रहेको रिपुमर्दन गणका गणपति क्षेत्रीले जानकारी दिए।
यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाई गरिने बताइएको छ । बाजागाजा सहित सहभागीलाई स्वागत र बिदाई गर्ने गरी स्थानीयतहसँगको समन्वय भईरहेको नेपाली सेनाले जनाएको छ ।
सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा शुरु गरेको थियो । नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन वैशाख ७ गते लाई विजय उत्सवको रूपमा मनाउँदै आइएको छ ।
पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…
गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…
गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…
गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…
गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…
गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…