गोरखा । गोरखाबाट सुरु गरिएको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा अन्तर्गतको टोली आज तनहुँको दमौलीमा पुगेको छ । ११ दिने यस विशेष पदयात्रामा सहभागी नेपाली सेनाको टोलीलाई गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दमौलीमा स्वागत गर्दै झण्डा हस्तान्तरण गरेका थिए।
मुख्यमन्त्री पाण्डेले पदयात्राको महत्त्वबारे चर्चा गर्दै यो यात्राले नेपाल, नेपाली र गोर्खालीको गौरवशाली इतिहासलाई जीवन्त राख्न योगदान पुर्याउने विश्वास व्यक्त गरेको बताए। उनले ऐतिहासिक स्मृतिलाई संजोएर नयाँ पुस्तामा देशप्रेम र इतिहासप्रतिको सरोकार थप बढाउने खालको अभियानका रूपमा यात्रालाई मूल्यांकन गरेको बताए।
नेपाली सेनाले तेस्रो संस्करणको रूपमा आयोजना गरेको यस पदयात्रा बिहीबार गोरखा दरबारबाट सुरु भएको हो। गोरखा दरबारबाट जितगढीसम्मको ऐतिहासिक रुटमा आधारित यो पदयात्रा नेपालको ऐतिहासिक संघर्ष र वीरताको कथालाई सम्झाउने उद्देश्यले सञ्चालन हुँदै आएको छ।

यो पदयात्राले राष्ट्रिय एकता, इतिहासप्रतिको सम्मान र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

