गोरखाबाट काठमाडौँतर्फ ‘युनिफिकेसन ट्रेल’ पदयात्रा सुरु

समाचार

गोरखा । पृथ्वीनारायण शाहकालीन पोशाकमा टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाडौँतर्फ पैदल यात्रा सुरु गरेको छ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका ऐतिहासिक मार्गको पहिचान गर्दै ‘युनिफिकेसन ट्रेल’ (एकीकरण पदमार्ग) निर्माण गर्ने उद्देश्यका साथ यो पदयात्रा थालिएको हो।

इतिहास संरक्षण, नेपाली संस्कृति र परम्पराको प्रवर्द्धन तथा एकीकरणका क्रममा प्रयोग भएका विविध गढी, किल्ला, दरबार र मार्गहरूको पहिचान, संरक्षण र प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। हरेक वर्ष पृथ्वी जयन्तीका अवसरमा आयोजना हुँदै आएको यो ६ औं पदयात्रा नेपाली सेनाको रुद्रध्वज गण, गोरखा नगरपालिका र भीमसेनथापा गाउँपालिकाको संयुक्त आयोजनामा भएको हो।

सोमबार बिहान ९ बजे गोरखा दरबारबाट पदयात्रा औपचारिक रूपमा सुरु गरिएको हो। पश्चिम पृतना हे.क्वा. का पृतनापति उपरथी भोलानाथ थापा प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भ कार्यक्रममा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका गणहरूको झण्डा टोलीलाई हस्तान्तरण गरिएको थियो।

टोलीलाई एक विशेष कार्यक्रमका बीच पश्चिम पृतनाका पृतनापति थापा, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकलगायतले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका हुन्।

नेपालको राष्ट्रिय झण्डा, टर्च तथा नेपाली सेनाका प्रथम पाँच कम्पनी—श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज—का झण्डासहित सेनाको टोली गोरखा दरबारबाट हिँडेको हो।

पदयात्रामा सहभागी सैनिकहरू हनुमान चौतारी, जोर चौतारी, ताप्ले, अश्राङ, बोर्लाङ, घाटबेँसी हुँदै बोर्लाङघाट पुग्नेछन्। त्यसपछि धादिङको सल्यानटारमा एक कार्यक्रम आयोजना गरी गोरखाबाट लगिएको टर्च र झण्डा सोमबार बेलुकै धादिङस्थित भैरव गणको टोलीलाई हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ।

भैरव गणले केही दिनपछि नुवाकोटको शेर गणलाई झण्डा हस्तान्तरण गर्नेछ। नुवाकोटबाट २६ गते काठमाडौँको शार्दुल गणलाई हस्तान्तरण गरिने र त्यसपछि उक्त टोली २७ गते काठमाडौँमा आयोजना हुने पृथ्वी जयन्ती कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *