शिक्षा

आन्तरिक पर्यटनका लागि पुग्नै पर्ने जिल्ला गोरखा

विराज त्रिपाठी

नेपालमा मात्र होइन गोरखा शब्दले आज विश्वभरि नै चर्चा पाएको छ । ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासनदेखि लिएर शाहवंशको सुरुआत भएको जिल्ला हो गोरखा । नेपालको भूगोलमा तिब्बती सीमादेखि तराइको जिल्लासँग जोडिएको जिल्ला पनि गोरखा हो । उत्तरी भेग अर्थात सिर्दिबासदेखि माथिका दुर्गम भूगोल जसलार्ई हिमालपारीको गोरखा भन्ने गरिन्छ । गोरखा दरबार, गोरखनाथ मन्दिर, तल्लो दरबार जस्ता ऐतिहासिक सम्पदा गोरखामा रहेका छन् । मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा छन् भने कल्छुमन ताल, कालाताल नारदकुण्ड, दूधपोखरी जस्ता ताल र पोखरीहरु पनि गोरखामा रहेका छन् । गोरखा भित्र मनास्लु, हिमालचुली जस्ता हिमचुचुरा र विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु गोरखाका धरोहर हुन् ।

गोरखा जिल्लाका गुरुङ समुदायका ग्रामीणबस्ती वारपाक, लाप्राक जस्ता रमणीय गाउँहरु छन् । गाउँघरको सफा वातावरण, होमस्टेको सुविधा, सडक यातायातको बिस्तारले गर्दा गोरखा जिल्ला आजभोलि आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने जिल्लाको नाममा पर्न थालेको छ । घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक । प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक ०७२ सालको भूकम्पपछि पुनःनिर्माण भै रहेछ । दरौदी नदीको किनारैकिनार पुगिने बारपाक जादा प्रसिद्ध दर्जनौं झरना र धेरै हिमशृंखला देख्न सकिन्छ । १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा घले जातिको बाहुल्य छ । बारपाकमा नेपालकै सुन्दर गाउँहरुमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयहरुले पर्यटकका लागि होमस्टेकोसमेत व्यवस्था गरेका छन् । पर्यटकलाई बारपाक प्रवेशद्वारबाट झ्याइझ्याई बाजा बजाएर स्वागत गरिन्छ । बाजागाजासँगै गाउँ घुमाई स्थानीय परिकार सबैजसो घरहरुमा भेडाको मासु, सिस्नुको तरकारी, ढिडो, खान पाउँछन् । बारपाक जाने पर्यटकले मदिराका पारखीहरुलाई चाख्नकै लागि मात्र स्थानीयस्तरमा बनाइएको आधा गिलास रक्सी पनि दिइन्छ ।

गोरखामा लिगलिगकोट बाहेक अन्य साना–ठूला गरी ३६ वटा कोटहरु छन् । सबैभन्दा बढी अग्लो कोट अजिरकोट हंसपुरमा छ । जसको उचाइ ६ हजार ५०० मिटर रहेको छ । अन्य कोटहरुमा उपल्लोकोट, जुन हनुमान भन्ज्याङको पूर्वपट्टी उकालो चढेपछि भेटिने कोट हो । जुन कोटमा बज्र भैरवको मूर्ति छ । गोरखा जिल्लाका अन्य रमणीय पहाडको शृङ्खलामा रहेका अन्य कोटहरुमा मिरकोट, धुवाकोट, लकाङ्कोट, ताकुकोट, श्रीनाथकोट, वुङकोट जस्ता ऐतिहासिक कोट छन् । तर पनि पश्चिम गोरखाको लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । किनकि लिगलिगकोट आफैमा इतिहास हो । शाहवंशको राजतन्त्रको सुरुआत भएको ठाउँसँग लिगलिगकोट जोडिएको छ । प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महत्वपूर्ण छ । लिगलिगकोटबाट मनास्लु हिमालको दृष्य अवलोकन र गोरखा, लमजुङ र तनहूँका अधिकांश भूगोल पनि देख्न सकिन्छ ।

गोरखाको इतिहास खोज्ने हो भने पृथ्वीनारायण शाहभन्दा पहिला उपत्यकाका यक्ष मल्ल, पाल्पाका मणि मुकुन्दसेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि नेपाल एकीकरणको प्रयास भएको पाइन्छ । त्यस वेला पाल्पा राज्य ठूलो थियो । गोरखा पनि पाल्पा राज्यको अधिनमा थियो । पाल्पाका राजा मणि मुकुन्दसेनको मृत्युपछि उनको छोराले गोरखा राज्यलाई आफ्नोे नियन्त्रणमा राख्न चाहेनन । त्यसपछि विशाल गोरखा राज्य थुम, कोट र गाउँका मुखियाहरुले आफै राज्यको घोषणा गरी राज्य चलाउन थाले । यसरी राज्य विभाजन हुँदा लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट र वारपाक जस्ता राज्यमा गोरखा विभाजन भयो । राज्य सन्चालन गर्दा राजाको आवश्यकता पर्ने हुँदा लिगलिगकोटमा नयाँ परमपराको थालनी भयो । जुन परमपराले प्रत्येक वर्ष विजयादशमीको दिन दौडबाट राजा छान्न थालियो । त्यसलाई लिगलिगकोटको दरबारबाट चेपेनदीको चेपेघाटसम्मलाई १३ कि.मि को दूरी निर्धारण गरियो । राजा हुने दौड प्रतियोगिता वि.सं.१६१६ मा द्रव्यशाह राजा भएका थिए ।

नेपालको इतिहासमा नै गोरखा जिल्लाको पहिचान र महत्व छुट्टै रहेको छ । नेपाल एकीकरणको वेला ज्योतिषको ज्ञानबाट गणितिय शिक्षा दिने ज्योतिष कुलानन्द ढकालको जन्म गोरखामा भएको थिायो । साथै भीमसेन थापा, लखन थापा र दोस्रो विश्वयुद्धमा बर्मासँगको लडाइमा वीरता कमाई भीसी पदक पाएका गजे घलेको घर पनि गोरखामा थियो । यसैगरी शाह वंशका राजाहरुमा पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्वर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपती शाह, नर भुपाल शाह,र पृथ्वीनारायण शाहको जन्म पनि गोरखामानै भएको थियो । गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गोरखामा गरिने ठाउँ भएकाले सोही आधारमा ठाउँको नाम गोरखा रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदाहुँदै गोरखा भएको अर्को प्रसङ्ग पनि छ ।

राजसंस्थाको विलयपछि अहिले गोरखा जिल्लाको ऐतिहासिक स्थल पर्यटकीय स्थल बनेका छन् । गोरखा पुग्ने मानिसहरुले शाहवंशका पालाका दरबार, कोट र मठ–मन्दिरहरुको अवलोकन गर्ने गर्दछन् । पृथ्वीनारायण शाहको जन्म भएको गोरखा दरबार पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा रहेको छ । गोरखा दरबारले ऐतिहासिक महत्व राखेको छ । यो दरबार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाइ छ । गोरखा बजारको मध्य भागमा रहेको अर्को दरबार पनि शाह वंशीय राजाहरुको इतिहाससँग जोडिएको छ । यस दरबारले मल्लकालीन वस्तुकलाको नमूना प्रस्तुत गरेको छ । यस दरबारको झ्याल ढोका र टुँडालहरुमा पौराणिक काष्ठ कलाको नमूना पर्यटकहरुले देख्न सक्दछन् । गोरखा दरबारबाट करीव १ कि.मी. उत्तर पूर्वमा पर्ने उपल्लोकोट दृष्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको छ । यस स्थलबाट बिहानीको सूर्योदयको रमणीय दृष्य हेर्न सकिन्छ । यस स्थलले ऐतिहासिक महत्वसमेत बोकेको छ । गोरखा दरबार निर्माण हुनु अघि राजा राम शाहको दरबार यसै स्थानमा रहेको मानिन्छ । गोरखा दरबारको नजिक गोरखनाथको मन्दिर एवम् गुफा आकर्षणको अर्को केन्द्रको रुपमा रहेको छ ।

गोरखा बजारको केन्द्रमा सङ्ग्रहालय छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेको तल्लो दरबारमा रहेको सङ्ग्रहालयले गोरखा पुग्ने पर्यटकहरुको स्वागत गरिरहेको हुन्छ । सङ्ग्रहालयको गेटैसम्म साना सवारी साधन पुग्दछ । सङ्ग्रहालय अवलोकन गर्न विद्यार्थीले परिचय पत्रका साथ सहुलियत र अन्य नेपालीले २५ रुपैयाँ तिरे पुग्छ । क्यामेरा प्रयोग गर्नेहो भने अतिरिक्त शुल्क तिर्नुपर्छ । मोवाइलको क्यामेरा प्रयोग गर्दा भने पैसा लाग्दैन । सङ्ग्रहालय छिर्ने बित्तिकै पर्यटकहरुको ध्यान दरबारले खिच्छ । त्यहाँ कुँदिएका बुट्टा, बनोटको कलाले सबैलाई लोभ्याउँछ । सङ्ग्रहालयको छायाँमा फोटो खिच्नेहरुको ताँती नै लाग्छ । सङ्ग्रहालय छिर्ने मुल ढोकामा पृथ्वीनारायण शाहाको पालाको तोप छ । मुलढोकाको दायाँ र बायाँ रहेको तोपमा आड लागेर फोटो खिच्न पर्यटकहरु पालो नै पर्खेर बसेका हुन्छन् ।

सङ्ग्रहालयको मुल ढोकाबाट भित्र छिरेपछि गोरखामा रहेका विभिन्न जातजातिको डमीले झनै कौतुहलता बढाउँछ । गुरुङ, कुमाल, भुजेल, कामी जातिको भेषभूषा र पेसा झल्कने डमी सङ्ग्रहालयमा राखिएको छ । दुरुस्त मानिस जस्तै देखिने डमीमा शैक्षिक भ्रमण आएकाहरु अझै धेरै समय भुल्छन् । सङ्ग्रहालयको माथिल्लो तला उक्लिएपछि सुरु हुन्छ, नेपाल एकीकरणको इतिहास । गोरखाको शाहकालीन इतिहासको चिनारी । पहिलो कक्षमा पृथ्वीनारायण शाहको पालामा गोरखामा भएका शिलालेख र चिनारीको झल्को पर्यटकहरुले हेर्न सक्दछन् । पहिलेका भाषा र ग्रन्थहरु पृथ्वीनारायण शाहाका भनाइहरुलाई फोटोमा उतारिएको छ । दोस्रो कक्षले पर्यटकहरुलाई धेरैबेर अलमल्याउँछ । त्यहाँ पृथ्वीनारायण शाहलाई देख्न पाइन्छ । उनको पालामा नेपाल एकीकरण कसरी सम्भव भयो ? फोटो हेरे सजिलै बुझिन्छ । भाइभारदारहरुलाई नेपाल एकीकरणको तयारी गराइरहेका तस्वीर त्यहाँ छन् । हात्तिमाथि चढेर पृथ्वीनारायण शाहाले नुवाकोट एकीकरणको योजना बुनेकादेखि युद्धको झल्को दिने तस्वीर पनि छन् ।

तेस्रो कक्षमा लोभलाग्दा हातहतियार छन् । सयौँ वर्ष पहिले प्रयोग हुने हतियारहरु त्यहाँ देख्न पाइन्छ । तोप, भाला, बन्दुक, जस्ता धेरै हतियार राखिएको छ । जुन अहिले प्रयोगमा आउने भन्दा धेरै भिन्न छन् । अहिलेका पुस्ताका लागि यो बिल्कुलै नयाँ छ । जुन हतियारको सहायताले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको पार्दुभाव गोरखाबाट गरेका थिए । त्यसैको सीधा अगाडि राजगद्धी छ । उतीवेला पृथ्वी नारायण शाहले राज गर्दा प्रयोग गर्थे । चौथौँ कक्षमा पृथ्वी नारायण शाहका पालामा प्रयोग हुने पाँच पैसा देखि एक रुपैयाँसम्मका सिक्का छन् । तामा र सुनका पैसा पनि देख्न पाइन्छ । सङ्ग्रहालयको पाँचौँ कक्षमा भाँडावर्तन छ । पृथ्वीनारायण शाहदेखि राम शाहका पाला हुँदै अहिलेसम्म प्रयोगमा आएका माना, पाथि, ढक, तराजु । उतिबेला र अहिलेका भाँडा वर्तनमा धेरै फरक पाइन्छ । अहिले प्रयोगमा आउने भन्दा धेरै थरीका सटही सामानहरु उतिबेला प्रयोग हुन्थे । अन्तिम कक्षमा ठूला–ठूला मादल, ढोलक, नरसिंङया छन् । राजदरबारमा मेला उत्सव र महोत्सव हुँदा गोरखाका शाहाकालीन राजाहरुले प्रयोग गर्ने गरेका बजागाजालाई सङ्ग्रहालयमा सजाइएको छ ।

सङ्ग्रहालय भित्र छिरेको एक घण्टामा यहाँ भएका सबै कक्षा घुमेर सकिन्छ । सङ्ग्रहालयबाट गोरखकाली दरबार, गोरखनाथ मन्दिर देखिन्छ । तर अहिले भने दरबार पुर्नः निर्माणको चरणमा छ । गोरखकाली मन्दिरको जगदेखि भत्काएर निर्माण थालिएको छ । भुकम्पमा मन्दिर भत्किएपछि अहिले जगदेखि निर्माण सुरु गरिएको छ । मुख्य दरबार मर्मतको क्रममा रहेको भएपनि छेउमा रहेको अर्को दरबार, रोटपार्टी, गोखनाथ मन्दिर घुमफिर, हेर्न पूजापाठ गर्न पाईन्छ । पूर्न निर्माणको क्रममा भएपनि नियमित पूजापाठ र बलि दिने क्रम भने चलिरहन्छ । ४० मिनेटको पैदल यात्रा गोरखकाली दरवार सजिलै पुग्न सकिन्छ । गोरखकाली दरबारसम्म नै एकनासले ढुङ्गा बिच्याएर सिँढी लगाइएको छ । हिँडन गाह्रो लाग्ने पर्यटकहरु १० मिनेटमा ट्याक्सी चढेर पनि पुग्न सकिन्छ । मन्दिरमा प्रवेश शुल्क तिर्नु पर्दैन । मन्दिरको बायाँबाट भित्र जाने र दायाँबाट निस्कने फरक–फरक ढोका छ । मन्दिरमा गाँडिएका ध्वजा पतका र सिंगारिएको रङले पर्यटकको मन लोभ्याउँछ । दरबारभित्र शाहाकालीन राजाहरु बस्ने कोठा, उनीहरुले प्रयोग गर्ने चुलो चौका हेर्न पाइन्छ । काली, भगवाती सरस्वती धेरै देवीदेवताका प्रतिमूर्ति र गुरु गोरखनाथको गुफा छ ।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको सल्लाह सुझाव दिने गोरखनाथको मन्दिरमा दैनिक पूजा गरिन्छ । गोरखनाथको आर्शीवाद लिने भक्तजनको दिनहुँ घुँइचो लाग्छ । गोरखनाथलाई मनपर्ने परिकारको रुपमा रोटलाई चिनिन्छ । रोट चढाएर खुसी पार्न सके भाकल पूरा हुने जनविश्वास छ । चामलको पिठोमा ५२ थरीका मसला मिसाएर रोट तयार गरिन्छ । यसरी तयार पारिएको रोट प्रसादको रुपमा बाँडिन्छ । गोरखकाली दरबार आसपासमा गणेश, दुर्गा भवानीलगायत धेरै देवीदेवताका मन्दिर र प्रतिमूर्ति छन् । एक घण्टा समयमा मन्दिर पनि पुरै घुम्न सकिन्छ । मन्दिरबाट निस्किएपछि माथिपट्टि सिद्ध पाइला भन्ने ठाउँ छ । सिद्धपाइलाबाट गोरखकाली मन्दिर र पछाडिपट्टि गाउँको रमाईलो दृष्य देखिन्छ । सिद्धपाइला भएको ठाउँमा तीन पटक घुमेर दुवै खुट्टा त्यहाँ रहेको पाइलामा टेक्न सके इच्छा पूरा हुने जनविश्वास छ । गोरखा दरबार परिसरमै राजा रामशाहाको झल्को दिने न्याय चौतारा छ ।

न्याय नपाए गोरखा जानु भन्ने उनको भनाइ जताजतै प्रख्यात छ । उतीबेला न्याय निसाब छिन्ने गोरखा बजारमा एउटा चौतारो छ । यस चौतारोलाई राजा राम शाहले न्याय दिने चौतारोको रुपमा चिनिन्छ । यसैलाई राम शाह चौतारो भनिन्छ । राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्यहरु सबै यसै चौतारोमा बसेर गर्थे भन्ने भनाइ छ । प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक वातावरण, हिमालदेखि पहाडसम्म मैदानी भाग र ठूला टारले फैलिइएको छ गोरखा । ऐतिहासिक कोट, शक्तिपीठ र भुरेटाकुरे राजाहरुले निर्माण गरेका दरवार र कोटमौलामा बनेका मन्दिरहरु गोरखा जिल्लाका धरोहर हुन् ।

गोरखा काठमाण्डौँदेखि ५ घण्टाको बस यात्रामा पुग्न सकिन्छ । पोखरा, चितवनबाट पनि तीन घण्टा भन्दा धेरै समय खर्चनु पर्दैन । गोरखा बजार तनहुँको आँबुखैरेनीबाट २४ किलोमिटर दुरीमा पर्दछ । इतिहास र ऐतिहासिक सम्पदाको पहिचान गर्न पृथ्वीनारायण शाहादेखिको इतिहास हेर्न र अवलोकन गर्न गोरखाको सदरमुकाम छाडेर अन्यत्र जान पनि पर्दैन । गोरखा घुमफिर गर्दा खान बस्नका लागि कुनै समस्या पर्दैन ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…

56 years ago

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago