गोरखा दरबार सङ्ग्रहालय स्थापना भएको १७ वर्ष पूरा

समाचार

गोरखा, ज्येष्ठ १९ । गोरखा दरबार सङ्ग्रहालय स्थापना भएको १७ वर्ष पूरा भएको छ । सङ्ग्रहालयले सोही अवसरमा गोरखा जिल्ला सदरमुकाम स्थित सङ्ग्रहालयकै प्राङ्गणमा गोरखा जिल्लाका विभिन्न बिधालयका शिक्षक, बिद्यार्थी साथै कर्मचारीहरुको उपस्थितिमा शनिबार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । गोरखा दरबार सङ्ग्रहालय २०६५ ज्येष्ठ १९ गते स्थापना भएको थियो ।

उक्त कार्यक्रम पुरातत्त्व बिभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गको अध्यक्षतामा तथा जिल्ला प्रशासन कार्यालय गोरखाको प्रमुख भोला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साथै गोरखा दरबार सङ्ग्रहालय बारे थप केही जानकारी

सङ्ग्रहालय घुम्न आएका आन्तरिक तथा बाहृय पर्यटकबाट हालसम्म १ करोड ८१ लाख ७६ हजार १ सय ७७ रुपैयाँ राजस्व सङ्कलन भएको सङ्ग्रहालयले जनाएको छ। विद्यार्थी, नेपाली, सार्क र अन्य राष्ट्रका पर्यटकसँग सङ्ग्रहालयले प्रवेश टिकटमा फरक फरक शुल्क लिँदै आएको छ। पछिल्लो समय नेपालका ऐतिहासिक सम्पदाको स्थलगत अवलोकन गर्नेको संख्या वृद्धि हुँदै गएको छ । स्थापना भएको आव २०६५/६६ देखि आव २०८०/८१ बैशाख सम्ममा १० लाख ६१ हजार ३५४ जनाले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेको सङ्ग्रहालयले जनाएको छ । उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटकले समेत गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् । स्थापना मिति देखि हाल सम्ममा सार्क रास्ट्रका पर्यटक ८५२ जना र अन्य बिदेशी पर्यटक १४ हजार ०२९ जनाले सङ्ग्रहालयको अवलोकन गरेको सङ्ग्रहालयले जनाएको छ ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट गोरखा दरबार सङ्ग्रहालयको गाह्रोमा क्षति पुगेको थियो । अहिले पनि यसको संरक्षण जारी छ । सङ्ग्रहालयमा पृथ्वीनारायण शाहलगायत अन्य राजाहरूसँग सम्बन्धित सामग्रीहरू सङ्गृहीत छन्। गोरखा दरबार सङ्ग्रहालयमा राष्ट्रिय सङ्ग्रहालयमा समेत नभएका पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग गरेका सामग्रीहरू देख्न पाइन्छ। शाह वंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्त्वपूर्ण वस्तुहरू सङ्ग्रहालयमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *