पूर्वराजा ज्ञानेन्द्र शाहको गोरखा भ्रमण, राजसंस्थाका पक्षधरद्वारा भव्य स्वागत

समाचार

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले करिब २० वर्षपछि गोरखाको भ्रमण गरेका छन्। शनिबार गोरखा आइपुगेका शाहले गोरखकाली र गोरखनाथको पूजाआजा गर्नुका साथै स्थानीयबासीसँग भेटघाट तथा स्वागत ग्रहण गरेका छन्।

राजसंस्थाको पुनःस्थापनाको माग उठिरहेका बेला राजसंस्था र राजतन्त्रप्रति आस्था राख्ने विभिन्न समूह तथा संस्थाहरूको आमन्त्रणमा शाह गोरखा पुगेका हुन्। बिहान ९ बजे तनहुँको आँबुखैरेनीमा उनलाई स्वागत गरिएपछि मोटरसाइकल ¥यालीसहित गोरखा पुर्‍याइएको थियो। शाह बिहान १० बजे गोरखा दरबार पुगेका थिए, जहाँ उनले गोरखकाली, गोरखनाथको पूजा आराधना तथा ऐतिहासिक दरबार अवलोकनमा दुई घण्टा बिताएका थिए।

शनिबार चैत्र कृष्णअष्टमीको अवसर पारेर शाहले गोरखकाली तथा गोरखनाथको पूजाआजा गरेका हुन्। पूजा सम्पन्न गरेपछि उनले स्थानीयबासीसँग भेटघाट गर्दै सबैको भलो चिताउने सन्देश दिएका थिए। ‘गोरखा मेरो पुख्र्यौली थलो हो। यहाँ आउँदा निकै खुशी लागेको छ,’ शाहले भने, ‘सबैको भलो होस्, कोही कसैको कुभलो नचिताओस् भन्ने मेरो शुभेच्छा छ।’

शाहको स्वागतका लागि १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो। उनीहरू बाजागाजासहित ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राष्ट्र घोषणा गर’ जस्ता नारा लगाउँदै गोरखा पुगेका थिए। सवारीमा शिव सेना, राष्ट्रिय सरोकार मञ्च नेपाल लगायतका विभिन्न स्वयंसेवक समूहहरूको पनि सहभागिता थियो।

गोरखा संग्रहालय परिसरमा नागरिक स्वागत समाजका संयोजक भगवानदास मल्लले शाहलाई ज्ञापनपत्र बुझाएका थिए। सो पत्रमा हरेक वर्ष पुख्र्यौली थलो गोरखा आउने व्यवस्था मिलाउन तथा गोरखकाली, गोरखनाथ पूजाका लागि आवश्यक जनशक्ति तथा खर्चको व्यवस्था मिलाइदिन अनुरोध गरिएको थियो।

पूजा र स्वागत समारोहपछि शाह दिउँसो १ बजे गोरखाबाट फर्केर चितवन, कुरिनटारस्थित रिसोर्टमा पुगे। आइतबार बिहान उनले अर्को प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *