काठमाडौँको चिल्ला सडकमा दिनभरि पठाओ चलाउँदै आमाको उपचार खर्च जुटाउने २२ वर्षीय महेश बुढाथोकी आज जीवनमै छैनन्। जेन–जी आन्दोलनका क्रममा सहिद बनेका महेशको निधनपछि उनको परिवार एकै झट्कामा शून्यमा पुगेको छ ।
दोलखाको दुर्गम बुलुङ गाउँबाट १० वर्षअघि महेशका बुबा केशव बुढाथोकी आफ्ना दुई छोराको भविष्य बनाउने सपना लिएर काठमाडौँ आएका थिए। गाउँमा बाँदर र भालुको आतंक, फलानीपातीले नटेक्ने बारी, वर्षौँको मेहनतले पनि पेट नभरिने दैनिकी—यी सबैले उनलाई शहर पस्न बाध्य बनाएको थियो।
“मैले भारी बोक्दै छोरालाई १२ कक्षासम्म पढाएँ,” आँसु रोक्दै केशव भन्छन्, “अब म आमाबा दुवैलाई सुख दिन्छु, युरोप जान्छु, धेरै पैसा कमाएर काठमाडौंमै घर घडेरी किनिदिन्छु भन्थ्यो। तर आज सबै सपना खरानी बन्न पुगे।”
महेशले युरोप जान—विशेषगरी माल्टा पुग्ने—लक्ष्य लिएका थिए। त्यसकै लागि उनले ५० हजार रूपैयाँ मेनपावरमा बुझाइसकेका थिए। तर घरको वास्तविकता यति कठोर थियो कि “सपना” भन्ने शब्द उनलाई विलासिता लाग्थ्यो। उनकी आमा दिलकुमारी स्तन क्यान्सर पीडित थिइन्। उपचार खर्च जुटाउन महेश फुर्सद मिल्नेबित्तिकै पठाओ चलाएर आमालाई बाँच्छन् कि भन्ने आशामा दौडिन्थे।
तर, आन्दोलनको उथलपुथलमा महेश ढलेपछि दिलकुमारीका आँखा ओभाउनु त परै जाओस्, अब उनको जीवन धान्ने आधार नै हराएको छ। “छोराले आमाको उपचार पूरा गर्छु भनेको थियो,” केशवको आवाज फेरि टुट्छ, “अब त्यो बाटो पनि बन्द भयो। हामी पूर्ण रूपमा बेसहारा भयौँ।”
विगत दशकमा गाउँबाट शहरमा बसाई सराइ भएका हजारौँ परिवारहरूमध्ये बुढाथोकी परिवार पनि एक थियो। उनीहरूको कथा सामान्यजस्तै देखिन्थ्यो—गाँउको पीडा, रोजगारीको खोजी, र छोराछोरीमा राखिएको उज्यालो आशा। तर महेशको मृत्युले त्यो सामान्यता भत्काइदिएको छ।
काठमाडौँका सडकमा थाकेको शरीर लिएर हिँड्ने त्यहीं युवा, जसले आफ्नो भविष्यभन्दा आमाको जीवनलाई प्राथमिकता दिएको थियो, आज एउटा पीडादायी कथामात्र बनेर बचेका छन्।
उनका अधुरा सपना-युरोप पुग्ने, धेरै पैसा कमाउने, घरखेत किन्न सक्ने ।अब मात्र परिवारको आँसुमा बग्ने कल्पना बनिरहेका छन्।
महेशका बुबा केशव भन्छन्,“हाम्रो त सबैथोक सकियो। एउटा छोराले बाँचुन्जेल आमालाई बचाउने लडाइँ लड्यो, मर्नासाथ आमालाई बाच्ने आधार पनि लगेर गयो।”
जेन–जी आन्दोलनले धेरै प्रश्नहरू उठाइदिएको छ, तर महेशको परिवारमा एउटा मात्र प्रश्न बाँकी छ—
अब जीवन कसरी अगाडि बढ्ने?
यो प्रश्नको उत्तर न आन्दोलनसँग छ, न सरकारसँग, न समाजसँग।
तर यही प्रश्नले आज हजारौँ नेपाली परिवारको वास्तविकता झल्काइरहेको छ ।
आशाले धानेका जीवनहरू, अनि क्षणमै चकनाचुर हुने सपना।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…