गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–४ गैरीगाउँका करिब ३५–४० वर्षीय गगन विक रहेका छन्।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ः३० बजे साथीहरूसँग पौडी खेलिरहेका विकलाई अचानक खोलाले बगाएको थियो। साथीहरूले उद्धार गरी बाहिर निकाले पनि उनी अचेत अवस्थामा थिए।
घटनाको जानकारी पाएपछि कुरिनटार प्रहरी चौकीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा विकलाई चितवनको इच्छाकामना गाउँपालिका–४ फेवाटारबाट एम्बुलेन्समार्फत गोरखा प्रदेश अस्पताल पठाएको थियो।
अस्पतालमा साँझ ५ः४० बजे भर्ना गरिएका विकलाई चिकित्सकले ५ः५५ बजे मृत घोषणा गरेका हुन्। उनको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
