गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच गणेश भाडा पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
प्रशासनको अनुगमनका क्रममा सिल गरिएको एलपी ग्यास सिलिण्डरबाट ग्यास निकालेर बिक्री गर्ने गरेको पुष्टि भएको थियो। अनुगमनमा एउटा सिलिण्डरबाट कम्तीमा ४ केजी ग्यास निकाल्ने गरेको र त्यसका लागि प्रयोग हुने धातुको सुइरोसमेत बरामद भएको प्रशासनले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत अधिकतम जरिवाना गरिएको हो।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले पनि केही व्यापारीले बिक्री गरेका एलपी ग्यास सिलिण्डरमा ४ देखि ५ केजीसम्म कम ग्यास रहेको प्रमाण फेला परेको दाबी गर्दै तत्काल बजार अनुगमन र दोषीमाथि कडा कारबाही गर्न माग गरेको थियो।
प्रशासनले ठगिएका उपभोक्तालाई पूरा तौलको ग्यास उपलब्ध गराउन तथा व्यवसाय स्थलमा सीसीटीभी जडान गर्न निर्देशन दिएको छ। तर, उपभोक्ता ठगी तथा कालोबजारी पुष्टि हुँदा जरिवाना मात्रै गरेर अन्य कानुनी कारबाही हुन्छ कि हुँदैन? भन्दै स्थानीय तथा उपभोक्ताले प्रश्न उठाएका छन्।
कारबाही चित्त नबुझे व्यवसायीले तोकिएको जरिवानाको ५० प्रतिशत धरौटी राखेर पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको प्रशासनले जनाएको छ।


