गोरखा ।
गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८३ भदौ ४ गते राति पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्ने करिब ४३ वर्षीय प्रेम सुनारले आफ्नो फेसबुकमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठको समन्वयमा प्रहरी चौकी नयाँसाँघुबाट खटिएको टोलीले सोही राति करिब ९ बजे सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट सुनारलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट लाइसेन्स नभएको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
सोधपुछका क्रममा उक्त बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको रहेको खुलेपछि प्रहरी चौकी छोप्राकबाट खटिएको टोलीले भदौ ५ गते बिहान करिब १२ः३० बजे विष्णुलाई समेत घरबाट नियन्त्रणमा लिएको छ।
दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याई राखिएको प्रहरीले जनाएको छ।
