विराज त्रिपाठी
असोज २८, २०७९
गोरखा २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आउनु माओ चिनकाङसाङ् फर्केजस्तै भएको र क्रान्तिकारी को बिउ बचाइ राख्न, पार्टी निर्माणको निम्ती, रुपान्तरणको निम्ती म गोरखा आएको बताए । भाषण कै क्रममा प्रचण्ड भाबुक समेत भएका थिए । 
बर्तमान परिस्थितीको पेचिलोपन, जटिलता, प्रतिक्रियाबादीको गतिविधीको अध्ययन गरेर पनि आफु गोरखा आएको उनले बताए। ‘गोरखा जानु उचित छ, त्यसले मात्र पार्टी निर्माणलाई नयाँ ठाउँमा उठाउन सकिन्छ, समाजबादको गोरेटो खन्न सकिन्छ भनेर आएको हुँ’ दाहालले भने।
आफू गोरखा आउने कुराले चितवनमा दुई-चार दिन आतंक मच्चिएको बताउँदै उनले गठबन्धनका मात्र नभएर एमालेका जनप्रतिनिधि पनि चितवनबाटै चुनाव लड्न जिताउने जिम्मा लिएर बालुवाटार पुगेको बताए।
आफु गोरखा आउँदैमा चितवन बिर्सने भन्ने कुरा नहुने बताउँदै उनले थपे ‘रोल्पा, सिराहा, काठमाण्डौँ पनि बिर्सने भन्ने हुँदैन ।’ गोरखा जाँदा ठुलै खैलाबैला हुन्छ कि भन्ने सोचेको तर अहिले गठबन्धन दल, पार्टी भित्र पनि बिस्तारै खुसी हुँदै र जनतापनि खुसी भएको उनले बताए ।

गोरखा २ बाट उम्मेदवार बनेका उनले गोरखाको बिकासका लागि बेनिघाट लार्के (तिब्बत जोड्ने सडक) बूढीगण्डकी जलविद्युत आयोजना, जडिवुटी प्रशोधन, यहाँको कृषि क्षेत्रको बिकासलाई गोरखा १ र २ नभनी सिङ्गो जिल्लालाई प्राथमिकता दिने बताए।
