विश्वकप खेल्न नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

खेलकुद

नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ।

युएईको आजमानस्थित इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८. ५ ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनायो।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए। ८४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। देव बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका थिए। ३६ रन बनाएर उत्तम एलबीडब्लूको धरापमा परे।

उत्तमले ४८ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।

खराब सुरूआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरालाई रोयल डक गुमाएको थियो।

यस्तै चौथो ओभरको पाँचौं बलमा नेपालका अर्का ओपनर अर्जुन कुमाल व्यक्तिगत तीन रनमा आउट भए।

यस्तै आकाश त्रिपाठीले ९ रन बनाउँदा विशाल बिक्रम केसीलेले ५० बलमा ५ चौकासहित ३८ रन बनाए।

यस्तै मिलन बोहरा २१ बलमा १ चौकासहित १० रन बनाउँदा हेमन्त धामी १३ रनमा आउट भए। दीपेश कँडेल १५ रनमा आउट भएका थिए।

युएईका लागि ध्रुव परासरले ३ तथा कप्तान आयन खान र हरितहर्ष सिट्ठीले २-२ विकेट लिए।

यस खेलमा विजयी हुने टोली आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *