२०८३ मङ्सिर १२ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गबाट भीरमा खसेर एक विद्यार्थी बेपत्ता भएका छन्।
चितवनको भरतपुरस्थित पारिजात माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय अंकित गुरुङ शनिबार साँझ भीरबाट खसेर बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार पोखराबाट चितवनतर्फ फर्किरहेको ना४ख ५२८५ नम्बरको विद्यालय बसमा सवार गुरुङ साँझ ६:१० बजे शौच गर्न बाटोछेउ जाने क्रममा करिब ६० मिटर तल भीरमा खसेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १० जनाको टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बेपत्ता विद्यार्थीको खोजी तथा उद्धारका लागि थप टोली परिचालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
