२०८३ कात्तिक २९ गते ।
मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटना २०८३ कात्तिक २९ गते भएको हो।
दुर्घटनामा काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालय मुगु र ताल्चास्थित प्रहरी टोलीबाट १७ जना प्रहरी घटनास्थलमा खटिएका थिए। जिपमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। चालकले मादक पदार्थ सेवन गरे/नगरेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।

