गोरखा । २०८३।०७।२२
गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमबाट दुई महिलासहित एक नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
आइतबार बिहान फिलिम स्वास्थ्य चौकीमा २९ वर्षीया सुन्तली गुरुङले सात महिनामै बालकलाई जन्म दिएपछि चिकित्सकले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सल्लाह दिएका थिए। त्यस्तै, चुमनुब्री–३ देबलकी २३ वर्षीया सुप्रिया गुरुङको पनि प्रसूति मिति कटिसकेकोले उद्धार गरिएको हो।
नेपाली सेनाको हेलिकप्टरले बिहान ११ः५० बजे आमा–बच्चासहित तीनै जनालाई काठमाडौंस्थित थापाथली अस्पतालका लागि उद्धार गरी लगेको हो। उद्धार गरिएकी सुत्केरी आमा र नवजात शिशु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूसँग सुन्तलीका श्रीमान् रामबहादुर गुरुङ पनि रहेका छन्।
उद्धारका क्रममा प्रहरी चौकी सिर्दिबासबाट प्रहरी सहायक निरीक्षक गजबहादुर गुरुङको कमाण्डमा दुई जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

