गोरखा । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृहजिल्ला चितवन छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन् । हालै चितवन–३ मा नयाँ घर बनाएर त्यहींबाट चुनाव उठ्ने तयारी गरेका दाहालले शुक्रबार गोरखा–२ बाट उम्मेदवारी दिने औपचारिक निर्णय गरेका हुन् ।
चितवनलाई आजीवन निर्वाचन क्षेत्र बनाउने बताउँदै आएका दाहालको यो निर्णयले चितवनका माओवादी कार्यकर्ताले कालो दिनको संज्ञा दिएका छन् । दाहालकी स्वकीय सचिवसमेत रहेकी चितवनकी नेत्री निशा न्यौपानेले यो निर्णयलाई ‘चितवनको कालो दिन’ भनेकी छन् । दाहालपुत्री एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले यो निर्णयलाई चितवनवासीका लागि दुर्भाग्य भनेकी छन् । ‘दुःखद चितवनवासीका लागि दुर्भाग्य,’ उनले फेसबुकमा लेखेकी छन्, ‘स्तब्ध, भित्री–बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ ।’
गत स्थानीय निर्वाचनमा ११ मध्ये ९ स्थानमा माओवादीले जितेपछि दाहालको ध्यान गोरखा गएको उनीनिकट एक नेताले बताए । दाहाल आगामी मंसिर २६ मा ६९ वर्ष प्रवेश गर्दै छन् । केही गरी यस पटक पराजित भए फेरि प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने भएकाले उनी सुरक्षित क्षेत्र खोज्दै गोरखा पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन् । कुनै पनि हालतमा सत्तामा पुग्ने नीतिले दाहाललाई चितवनबाट गोरखा जान बाध्य पारेको विश्लेषक झलक सुवेदीले बताए । ‘जसरी पनि सत्तामा पुग्न चुनाव जित्ने सुनिश्चित क्षेत्र खोज्दै प्रचण्ड गोरखा पुगेका हुन्,’ उनले भने, ‘उनका लागि प्रधानमन्त्री बन्ने अन्तिम अवसर भएको हुनाले चुनाव जित्नैपर्ने भएको हो ।’
कांग्रेसबाट असुरक्षित ठानेर दाहाल गोरखातिर लागेको चितवनका एक माओवादी नेताले बताए । ‘कांग्रेस कार्यकर्ताले इमानदारीपूर्वक हँसिया हतौडामा भोट हाल्छन् भन्नेमा अध्यक्ष सशंकित हुनुहुन्थ्यो,’ ती नेताले भने, ‘समग्र परिस्थितिको मूल्यांकन गरी उहाँ गोरखा जानुभएको हो ।’
माओवादी उपमहासचिव हरिबोल गजुरेलले चितवन–३ भन्दा गोरखा–२ सुरक्षित भएकाले दाहालले निर्णय लिएको बताए । ‘चितवनमा जित्न धेरै मिहिनेत गर्नुभयो, अध्यक्ष देशभर जानुपर्ने भएकाले समय कम हुने भयो,’ उनले भने, ‘गोरखा–२ बाट जित्न ढुक्क भएको हुनाले उहाँले त्यहाँबाट उम्मेदवार बन्ने निर्णय गर्नुभएको हो ।’
गठबन्धनमा चितवन–३ मा माओवादीलाई दिने सहमति भएको छ । दाहालले छाडेपछि उक्त क्षेत्रमा सूर्य सुवेदी र निशा न्यौपानेको दाबी छ । दोस्रो संविधानसभा निर्वाचनपछि संगठन कमजोर हुँदै गएपछि माओवादीले पाँच वर्षअघि एमालेसँग तालमेल गरी केही शक्ति आर्जन गरेको थियो । त्यही शक्तिका आधारमा नेकपा विभाजनपछि पनि माओवादी सरकार निर्माणको प्रमुख शक्तिका रूपमा रहँदै आएको छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पाँच दलसँग तालमेल गरी माओवादीले १२१ स्थानमा प्रमुख जितेको थियो ।
पहिलो संविधानसभामा दाहाल काठमाडौं–१० र रोल्पा–२ बाट विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–४ र काठमाडौं–१० उम्मेदवार भएकामा सिरहाबाट मात्र जित हासिल गरेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन–३ बाट विजयी भएका थिए । साभार: कान्तिपुर
