१६ कार्तिक २०७९, बुधबार
ईअस्त्र न्युज । कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी एवं तुलसी विवाह पर्वको दिनमा तनहुँको आँधिमुल मेला लाग्ने भएको छ । ठूलो एकादशी पर्व भनेर समेत मानिदै आएको हरिबोधनी एकादशी यस बर्ष कार्तिक १८ गते शुक्रबार परेको छ । मन्दिरमा हरिबोधनी एकादशी र नयाँ बर्ष विशेष चहल पहल हुने गर्छ । श्रावण महिना र औंशी बाहेकमा पूजा लाग्ने पुजारी मगरले जानकारी दिए ।
मनले चिर्र्ताएको पूरा गर्ने देवीको रुपमा मानिदै आएको आँधिबराही देवीको मन्दिरमा उक्त दिनमा विभिन्न स्थानबाट बाजागाजा सहित व्यक्तिगत र सामुहिक हजारौं दर्शनार्थी अनुमान गरिएको छ । विगतका बर्षमा कोरानाका कारण भक्तजनहरुको कम उपस्थिति भएता पनि यस बर्ष भने धेरै संख्यामा भक्तजनहरु आउने अनुमान सहित मेलाको तयारी स्वरुप मन्दिर परिसरको सरसफाइ, बजार व्यवस्थापन, सजावट लगाएतको काम तीव्र गतिमा भइरहेको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. १ को याञ्चोक र भुजेलगाउँको बीच भागमा रहेको ऐतिहासिक एवं धार्मिक स्थल आँधिमूल अर्थात आँधिबराही मन्दिर पौराणीक, ऐतिहासिक, धार्मिक र पिकनिक स्पटको रुपमा प्रशिद्ध रहेकोछ । गण्डकी प्रदेशको एक सय पर्यटकीय गन्तव्यमा पर्ने र समग्र आँबुखैरेनी गाउँपालिकाकै गहनाको रुपमा रहेको मन्दिरमा भव्य भेला लाग्ने भएकै कारण एकादशीका दिन पालिकाको शिक्षा शाखाले स्थानीय विदा समेत दिएको छ ।
पृथ्वी राजमार्गको सत्रसयबाट दक्षिण तर्फ करिब २५ मिनेट सवारी साधन र ४५ मिनेटको पैदल दुरी पर्दछ भने त्यति नै समयमा याम्पाफाँटबाट पनि मन्दिरमा पुग्न सकिन्छ ।

