गोरखा। इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा सञ्चालित इच्छाकामना न्यूज डटकम डिजिटल अनलाईन पत्रिकाले पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिबार चितवनको इच्छाकामना ३ चुम्लिङटार स्थित सिद्धार्थ रिसोर्टमा भव्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको कार्यकारी सम्पादक चित्र गुरुङले जानकारी दिए ।
पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष एवं कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता भीमलाल श्रेष्ठ गाेरखा जिल्लामा रहेर २ दशक भन्दा बढी समय देखि निरन्तर पत्रकारिता गरेर जनतामा उल्लेखनिय याेगदान पुऱ्याए बापत उच्च मुल्याङकन गर्दै कार्यक्रममा सम्मान गरिएको थियो ।यस्तै शहीदलखन गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवं प्रथम शहीद लखन थापाबारे खोज अनुसन्धानमा लागि परेका अध्येता जीवन आले मगरलाई पनि सम्मान गरिएको थियो ।

निमुखा जनताको कविको रुपमा चिनिएका आँबुखैरेनीका अनिल श्रेष्ठ, तेक्वान्दो खेलाडी इच्छाकामना गाउँपालिकाकी सुप्रिका गुरुङ, अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो इन्जिनियर मनिष चेपाङ, ग्रामिण पत्रकारिताका एक हस्तीको रुपमा चिनिएका इच्छाकामनाका रोहिणीप्रसाद त्रिपाठी लगायतलाई सम्मान गरिएको कार्यकारी सम्पादक गुरुङले बताए ।
इच्छाकामना न्यूज डटकमका सम्पादक देवराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रदेश सांसद कृष्ण प्रसाद सिलवाल, चितवन जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना, शहीदलखन गाउँपालिका अध्यक्ष रमेश थापा लगायतको सहभागिता रहेकाे थियाे ।
