९ फागुन २०७९
काठमाडौं । घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ। घर बहालमा दिने सबैलाई करको दायरामा ल्याउनु निर्देशिकाको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ ।
निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ।
भाडामा दिने र लिने दुवै पक्षले सम्झौतापत्रको एक-एक प्रति राख्ने छन् भने एक प्रति सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ।
सम्झौतापत्रमा बहाल लिने-दिनेको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्नेछ। घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर लगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ।
भाडा कति वृद्धि हुने, बिजुली-पानीको शुल्क कसले बुझाउने, बहाल कर कसले बुझाउने, घर मर्मत कसले गर्ने जस्ता विषय पनि सम्झौतामै उल्लेख गर्नुपर्ने छ । बहाल रकम वार्षिक ५ प्रतिशत वा दुई वर्षमा १० प्रतिशतसम्म मात्र बढाउन पाइने छ।
घर भाडामा दिएपछि घरधनीले पानी, बिजुली र शौचालय सुविधा दिनुका साथै बहालमा बसेका मान्छेको सुरक्षा, शान्ति सुव्यवस्था र सम्मानजनक व्यवहार पनि सुनिश्चित गर्नुपर्नेछ ।
