गोरखा । लामो समय सम्म चलेको गोरखा नगरपालिकाको नगर प्रमुख कृष्ण रानाका स्वकिय सचिव अनिष अर्याल (ज्याक)को विवाद दुई पक्षको सहमतीमा शुक्रबार समाधान भएको छ । विवाद समाधान उच्चस्तरीय वैठकले दुई बुँदे सहमती गरी विवाद टुङ्गो लगाएको हो ।
शिक्षक छनौटका विषयमा मेयर कृष्ण रानाका स्वकिय सचिव अनिष अर्यालले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का माथि गरेको दुव्र्यवहार प्रति आत्माआलोचना गर्ने र नगरपालिकाका कुनै पनि कर्मचारीले कर्तव्य, अधिकार र सिमा नाघेर कुनै पनि काम नगर्ने, गरेमा प्रमुख प्रशासकीय अधिकृतले स्पष्टीकरण सोध्ने सहमती गरी विवाद टुङ्गिएको नगरपालिकाले जनाएको छ ।
स्वकिय सचिवको विषयमा गोरखा नगरपालिकामा काँग्रेस निकटका उप–प्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको बहुमत संख्या र माओबादी निकटका वडा अध्यक्षहरु बीच विवाद चल्दा नगरपालिकामा कार्यपालिका बैठक समेत हुन सकेको थिएन ।
२३ बैशाख २०८० का दिन गोरखा नगरपालिका भित्रका नेपाली काँगे्रसका नगर कार्यपालिका सदस्यहरुको बहुमत सदस्यहरुले होटल मिराकल स्थित पत्रकार सम्मेलन मार्फत गोरखा नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव अनिश अर्याललाई पदीय अधिकार तथा मर्यादा विपरितका कार्यहरु गर्दै घटनाहरु पटक पटक दोहोर्याई कर्मचारीहरुको मनोबल कमजोर बनाउँँदा सेवा प्रवाहमा प्रभाव परेको भन्दै निस्कासनको माग गर्दै नगर प्रमुख, नगर उप–प्रमुख, प्रशासकीय अधिकृत र नगर कार्यपालिकाको कार्यालयको नाममा सम्बोधन गरी ज्ञापनपत्र बझाएको थियो ।
त्यस्तै तीन दिन पस्चात २६ बैशाख २०८० दिन माओबादी निकट गोरखा नगरपालिका भित्रका सात जना वडा अध्यक्षहरुले पनि होटल गोरखा प्यालेसमा पत्रकार सम्मेलन गर्दै गोरखा नगरपालिकाको शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्कालाई शिक्षक नियुक्तिको लागि नाता पर्नेलाई सेटिङ गरी नाम निकालिएको साथै कार्यलय परिसरमा आउँदा सुर्तिजन्य र मादक पदार्थ सेवन गर्ने भन्दै अविलम्ब राजिनामाको माग गरेको थियो ।
