संघ सरकारद्धारा गोरखाका सडक निर्माण तथा स्तरोन्नतिका लागि ९८ करोड ७३ लाख रकम विनियोजन

आर्थिक

गोरखाका विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका लागि संघ सरकारले ९८ करोड ७३ लाख रकम विनियोजन गरेको छ ।

आगामि आर्थिक बर्ष २०८०÷०८१ मा ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयबाट कार्यान्वयन गर्ने गरी सो बजेट प्राप्त भएको योजना कार्यालयले जनाएको हो । कार्यालयका अनुसार सबैभन्दा धेरै रकम बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत परेको छ । सो शीर्षकमा ५४ करोड ६० लाख रकम प्राप्त भएको छ ।

त्यस्तै बारपाक सडकका लागि २३ करोड ८४ लाख र बेनिघाट आरुघाट लार्के सडकका लागि १५ करोड रकम विनियोजन भएको छ । स्थानीय सडक पुल अन्तरगत २ करोड २७ लाख, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि २ करोड र रणनीतिक सडक पुल अन्तरगत १ करोड २ लाख रकम विनियोजन भएको सो योजना कार्यालयले जनाएको छ । ५४ करोड ६० लाखको बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत ४१ वटा योजना छन् । ती सबै योजना संघीय सरकार अन्तरगतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनामार्फत कार्यान्वयन हुने बताइएको छ । छनोट भएका योजनामा दश लाखदेखि पाँच करोडसम्मका रहेको कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले बताउनुभयो ।

कार्यालयले बजेट विनियोजन भएका योजनाको डिपिआर तथा वातावरण प्रभाव मूल्याकंन (आइइइ/इआइए) भए नभएको विवरण माग गरेको छ । पूर्वाधार बिकास कार्यालय सहित जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै कार्यालयले उक्त सडकमा वन क्षेत्र पर्ने नपर्ने, सडकले जोड्ने पालिका र वडा लगायतका विवरण सात दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ । योजनामा दोहोरोपना नल्याउनका लागि विवरण माग गरिएको कार्यालयका इन्जिनियर श्रेष्ठले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *