गोरखामा दशै सस्तो बजार मेला हुने भएको छ । गोरखा चेम्बर अफ कमर्स गोरखाले आइतबार पत्रकार सम्मेला गरी दशै सस्तो बजार मेला आयोजना गर्न लागेको जानकारी गराएको हो । मेला असोज २३ गते देखि कार्तिक ३ गते सम्म गतेसम्म संचालन हुनेछ ।
गोरखा चेम्बर अफ कमर्सबाट विगत बर्षहरुमा उपभोक्ताहरुको हितको लागी २ वटा दशैं सस्तो बजार तथा रमाईलो मेला संचालन गर्दै आएको र आगामी असोजमा पनि मेला आयोजना गर्ने चेम्बर अफ कर्मस गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।
मेलामा स्थानिय उत्पादनका परिकार बिक्री कक्ष, खसी वोका, च्याङ्ग्रा, लोकल कुखुरा, तथा नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङबाट दैनिक उपभोग्य सामग्रीको स्टलमा राखिने उनले बताए । चाडपर्वमा नयाँ लुगा खरिद गर्ने उपभोक्ताहरुलाई जुत्ता चप्पल, फेन्सी कपडा, घरेलु भाँडाकुडा लगायत सामग्री समेत राखिने चेम्बर अफ कर्मसले जनाएको छ । करिब ६० हजार दर्शकले अवलोकन गर्ने मेलामा करिब ७ करोडको कारोबार हुने जनाएको छ ।
जिल्लाका कृषक, साना व्यवसायी, दैनिक गुजारा गर्ने श्रमिकहरुले पनि मेलाबाट लाभ लिन सकिने उहाँले बताउनुभयो । मेलामा अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट विविध मनोरञ्जनका कार्यक्रम रहने जनाएको छ । दशैं सस्तो बजार मेला विगतको भन्दा अझै परिस्कृत र व्यवस्थित र उपभोक्ता लाभान्वित हुने गरी तेस्रो संस्करणको तयारी थालिसकेको उहाँले जानकारी दिनुभयो । मेलामा जिल्ला स्थित सबै पालिकाहरुको सहभागीताको लागी र सहकार्यको लागी अनुरोध गरिने बताउदै पालिकाहरुको स्थानिय उत्पादन विक्री र बजार व्यवस्थापनको लागी गोरखा चेम्बरले ब्राण्ड दिने अन्तराष्ट्रिय बजारमा समेत पहल गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।
साथै मेलाको प्रचार प्रसारणका लागि केही प्रचारका व्यानर बाहेक सम्पूर्ण जिम्मा नेपाल पत्रकार महासंघ गोरखालाई दिने अध्यक्ष श्रेष्ठले बताए ।

