२०८१ जेठ १० गते । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।
बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने प्रचलन छ । गर्मी बढेसँगै यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ ।
नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर जान्छन् भन्ने मान्यता छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरु आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ ।
उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हाे । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेला/सखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात बैशाख पुर्णिामा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।
उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।
