प्रविन रिजाल
रुकुम पश्चिम, श्रावण १, २०८१। रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।
उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिए ।
साथै यही बाढीमा परेर ७ जना घाइते भएको नगर प्रमुख केसीले जानकारी गराए । घाइते हुनेहरूमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिए ।