गोरखा, भदौ १३ गते । गत एक वर्षको अबधिमा २३ जना महिला जबरजस्ती करणी अर्थात बलात्कारको शिकार हुन पुगेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८० साउन देखि २०८१ असार मसान्त सम्ममा २३ जना महिला बलात्कृत भएका हुन् ।
जसमध्ये १० जना नाबालिका रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १८ वर्ष देखि २५ वर्ष सम्मका ४ जना महिला, २६ देखि ३५ वर्ष उमेर समूहका ७ जना महिला जबरजस्ती करणीको शिकार बनेका छन् । यसैगरी ३६ देखि ४५ वर्ष उमेर समूहका र ४६ देखि ६० वर्ष उमेर समूहकी एक÷एकजना महिला पनि जबरजस्ती करणीमा परेको उनले बताए । ‘परिवार, आफन्त र नजिकका संरक्षकहरुबाट महिलाहरु बढिमात्रामा पीडित भएका देखिन्छ,’ उनले भने,‘बालिका तथा महिलाहरु चिनेको भनेर दाइभाइ अंकल भन्दै नजिकिएका मानिसहरुबाट पिडित बन्ने गरेको हामीलाई प्राप्त उजुरीबाट पुष्टी हुन्छ ।’ सोही कारण बलात्कारका घटना हुन नदिन परिवारले बढि चनाखो हुनुु पर्ने उनले बताए ।
‘बालिका र महिलाहरु केही वर्ष अघिसम्म आफु माथि भएका जबरजस्ती करणीको घटना घटेमा यस्ता कुरा बाहिर ल्याउदा इज्जत जाने डरले लुकाएर राख्ने गर्थो,’ उनले भने,‘अहिले महिलाहरु चेतनाशिल पनि हँुदै गएका छन, आफु माथि भएका अत्याचार सहेर बस्नु हँुदैन ।’ सोही कारण पनि घटना बढि भएको जस्तो देखिएको उनले भनाई छ ।
बलात्कारमा संलग्न अभियुक्त भने १८ देखि ३५ वर्ष उमेर समूहमा बढि रहेको देखिन्छ । गत वर्ष उक्त उमेरका ८ जना रहेको उनले बताए । त्यस्तै ३६ देखि ४६ वर्ष उमेर समूहका र ४६ देखि ६० वर्ष उमेर समूहका ६÷६ जना पुरुष बलात्कारका घटनामा संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।१८ बर्ष मुनिका तीन, १८ देखि २५ वर्ष उमेर समूहका एक जना पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा जबरजस्ती करणी उद्योगमा ६ जना र बालयौन दुरुपयोगमा ७ जना पिडित भएका छन् ।
आर्थिक वर्ष २०७९÷०८० मा २० वटा जबरजस्ती करणीका घटना भएका थिए भने २०८०/०८१ मा बढेर २३ पुगेको छ । आर्थिक वर्ष २०७९/०८० मा जबरजस्ती करणी उद्योगका ३ जना र २ जना बालयौन दुरुपयोगको शिकार भएका थिए ।
स्थानीय तहगत हिसाबमा हेर्दा गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका ५/५ जना महिला बलात्कारको शिकार बनेका छन् ।
त्यस्तै भिमसेन थापा गाउँपालिका ३, शहिद लखन २र२ जना, अजिरकोट गाउँपालिका आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र गण्डकी गाउँपालिकामा १÷१ जना महिला जबरजस्ती करणीमा परेको प्रहरीले जनाएको छ । बलात्कारका घटना कम गर्न प्रहरीले नियमित रुपमा यौनजन्य हिंसा न्युनिकरणका कार्यक्रम गर्दै आइरहेका छ । जसअन्र्तगत सामाजिक सञ्जाल र विद्यालयहरुमा समेत विभिन्न खालका सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको उनले बताए । जिल्लाको ग्रामिण बिकट क्षेत्रमा अझै पनि यस्ता घटना लुकाइने गरेको अधिकारकर्मी बताउँछन । अशिक्षा, चेतनाको अभाव गरिबी लगायतका कारणले अझै धेरै घटना बाहिर आउन नसकेको उनीहरुको भनाई छ ।
