गण्डकी प्रदेशको एउटा वडामा मात्र हुने उपनिर्वाचनमा १० उम्मेदवारको मनोनय दर्ता

राजनीति समाचार
विराज त्रिपाठी


गोरखा । मंसिर १६ गते गण्डकी प्रदेशको एउटा वडामा मात्र हुन लागेको उपनिर्वाचनका लागि १० राजनीतिक दलका १० जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ५ मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा तोकिएको कार्यतालिका अन्तर्गत आईतबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल समाजवादी पार्टी, राप्रपा नेपाल, नेकपा (एकीकृत समाजवादी), मंगोल नेशनल अर्गनाइजेसन र नेशनल रिपब्लिक नेपालले आफ्ना उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् ।

जसमा नेपाली काँग्रेसबाट भाई काजी आले, नेकपा एमालेबाट दुर्गा माया थापा राना, नेकपा माओवादी केन्द्रबाट विष्णु बहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगल बहादुर थापा र राप्रपाबाट कल्पना राना उम्मेदवार रहेका छन् ।

त्यसैगरी नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती, राप्रपा नेपालबाट रुप सिंह राना, नेकपा (एकीकृत समाजवादी)बाट खड्ग बहादुर भुजेल, मंगोल नेशनल अर्गनाइजेसनबाट भबानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सबिना तामाङ्ग उम्मेदवार रहेका छन् ।

उक्त वडाको निर्वाचन क्षेत्रमा दुई हजार २२५ मतदाता रहेका छन् । कार्यतालिका अनुसार आइतबार(आज) मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिएको हो । मंसिर ४ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने तालिका रहेको कार्यालय प्रमुख टेकबहादुर कोइरालाले बताए । उनले उम्मेदवारको नाम फिर्ताका लागि मंसिर ५ गते दिउँसो एक बजेसम्मको समय दिइएको जानकारी दिए ।

सोही दिन उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने र १६ गते निर्वाचन हुने बताइएको छ । मंसिर १३ गते राती १२ बजेबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कार्यालयले जनाएको छ ।

शिवशक्ति आधारभूत बिद्यालय अमराई र गोरखकाली आधारभूत बिद्यालय स्वाँरालाई मतदान स्थल तोकिएको छ । शिवशक्तिमा दुई वटा मतदान केन्द्र र गोरखकालीमा एउटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।

यसअघिका वडाध्यक्ष खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते भाइटिकाको दिन असामयिक निधन भएको थियो । त्यस यता रिक्त रहेको वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *