गोरखा मेयर कपको उपाधि वडा नम्बर ३ लाई, उपमेयर कपमा धादिङको निलकण्ठ विजयी

खेलकुद गण्डकी प्रदेश समाचार

गोरखा । गोरखा नगरपालिकाद्वारा आयोजित “दोस्रो मेयर कप फुटबल प्रतियोगिता” मा वडा नम्बर ३ विजयी बनेको छ। वडा नम्बर ३ ले फाइनल खेलमा वडा नम्बर ९ लाई टाइब्रेकरमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो।

गोरखा नगरपालिका-१०, छेपेटार स्थित खेलकुद मैदानमा भएको फाइनल खेलमा दुवै टिमबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो। वडा नम्बर ९ ले सुरुवाती अग्रता लिए पनि वडा नम्बर ३ ले उत्कृष्ट कमब्याक गर्दै टाइब्रेकरमा जित निकालेको हो।

यसैबीच, उपमेयर कप महिला भलिबल अन्तर्गतको फाइनल खेलमा धादिङको निलकण्ठ नगरपालिकाले बारपाक सुलिकोट गाउँपालिकालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्यो। निलकण्ठको खेलमा सुरुदेखि नै एकतर्फी दबदबा रहेको थियो।

 

प्रतियोगितामा मेयर कप फुटबल तर्फ गोरखाका १४ वटा वडाहरू र उपमेयर कपतर्फ भलिबल तर्फ भने ८ वटा टिमले मात्र प्रतिस्पर्धा गरेका थिए । उपमेयर कप भलिबल प्रतियोगितामा धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिका सहभागी भएका थिएन । जिल्लाका ७ पालिका र भंगिनी सम्बन्ध रहेको धादिङको निलकण्ठ नगरपालिका एक टोली गरी ८ वटा टिम बीच प्रतिस्पर्धा भएको थियो ।

गोरखा नगरपालिकाको आयोजनामा सोमबार समपन्न भएको प्रतियोगितामा मेयर कप फुटबल तर्फ जित हासिल गर्दै वडा नं ३ ले नगद १ लाख १ हजार १११ रुपैयाँ पाएको छ । यस्तै, उपविजेता बनेको वडा नं ९ ले ५१ हजार १११ रुपैयाँ पुरस्कार पाएको छ । विजेता र उपविजेताले नगद पुरस्कार सँगै शिल्ड मेडल र प्रमाणपत्र पनि पाएका छन् ।

यस्तै, तेस्रो स्थान हासिल गरेको वडा नं १० ले नगद ३० हजार १११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना भएको वडा नं ७ ले १५ हजार १११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएको छ ।

मेयर कप फुटबल तर्फ प्रतियोगिताको ब्यक्तिगत बिधा तर्फ खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य बेस्ट प्लेयर वडा नं १० का प्रबिन कुमाल, बेस्ट किप्पर वडा नं ३ का प्रमोद  जुङ्ग कुँवर, सर्वोत्कृष्ट गोलकर्ता वडा नं ९ का पृथ्वी राना र उत्कृष्ट प्रशिक्षक वडा नं ३ का भिम बहादुर कुमाललाई घोषित गरियो। उनीहरूलाई नगद पुस्कार प्रदान गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।

उपमेयर कप महिला भलिबल तर्फ जित हासिल गर्दै धादिङको निलकण्ठ नगरपालिकाले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै, उपविजेता बनेको बारपाक सुलिकोट गाउँपालिकाले ५१ हजार १११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

यस्तै, तेस्रो स्थान हासिल गरेको सहिद लखन गाउँपालिकाले नगद ३० हजार १११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना भएको आरुघाट गाउँपालिकाले १५ हजार १११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएको छ ।

उपमेयर कप महिला भलिबल तर्फ प्रतियोगिताको ब्यक्तिगत बिधा तर्फ खेल अबधिभर उत्कृष्ट सर्भर निलकण्ठ नगरपालिकाकी कुशला बराम, उत्कृष्ट डिफेन्डर बारपाक सुलिकोट गाउँपालिकाकी संगीता बराम, उत्कृष्ट सटर निलकण्ठ नगरपालिकाकी जमुना गुरुङ, उत्कृष्ट स्पाइकर निलकण्ठ नगरपालिकाकी सलिना गुरुङ, उत्कृष्ट ब्लकर बरपाक सुलिकोट गाउँपालिकाकी रुपा बिक र उत्कृष्ट प्रशिक्षक निलकण्ठ नगरपालिकाका महेन्द्र ढुङ्गानालाई घोषित गरियो। उनीहरूलाई नगद पुस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, जिल्ला प्रहरी प्रमुख एसपि बासु देव पाठक, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *