प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

गण्डकी प्रदेश समाचार समाचार स्वास्थ्य

२०८३ साउन २५।

गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने तयारी अघि बढाएको छ। अस्पतालले सेवा विस्तारसँगै आधुनिक स्वास्थ्य प्रविधि भित्र्याउने र अस्पताललाई प्रदेशस्तरीय रेफरल अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

अस्पतालले सोमबार अस्पतालको सभाहलमा आयोजना गरेको अस्पताल सेवा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, सेवाग्राहीको तथ्यांक, उपलब्ध सेवा, चुनौती तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गरेका हुन्।

अस्पतालको आर्थिक वर्ष २०८२/०८३ को प्रोफाइलअनुसार अहिले अस्पतालमा विभिन्न प्रकृतिका गरी १६२ जना कर्मचारी कार्यरत छन्। अस्पतालले आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी, एक्स–रे, यूएसजी, ईसीजी, ओसीएमसी/एसएसयू, मेडिको–लिगल, अन्तरंग, प्रसूति तथा आकस्मिक शल्यक्रियालगायतका सेवा २४ घण्टा प्रदान गर्दै आएको छ।

बहिरंग सेवातर्फ जनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, बालरोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, अर्थोपेडिक्स, दन्त, नेत्ररोग, फिजियोथेरापी तथा पुनःस्थापना, आयुर्वेद, ईएनटी र छालारोग सेवा सञ्चालनमा छन्। मनोचिकित्सा सेवा पनि मासिक रूपमा उपलब्ध हुँदै आएको अस्पतालले जनाएको छ।

आकस्मिक सेवामा सेवाग्राही बढ्दै

अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०७९/०८० मा आकस्मिक सेवाबाट १० हजार ९७८ जनाले सेवा लिएकोमा २०८०/०८१ मा ११ हजार ३४५, २०८१/०८२ मा १२ हजार ८९७ र २०८२/०८३ मा १४ हजार २६५ जनाले सेवा लिएका छन्।

अन्तरंग सेवामा पनि सेवाग्राही बढेका छन्। २०७९/०८० मा २ हजार ५७५ जनाले सेवा लिएकोमा २०८०/०८१ मा २ हजार ९९१, २०८१/०८२ मा ३ हजार ८४९ र २०८२/०८३ मा ४ हजार ६५५ जनाले सेवा लिएका छन्।

त्यस्तै, फिजियोथेरापी सेवामा समेत उल्लेख्य वृद्धि भएको छ। २०७९/०८० मा २ हजार ४० जनाले सेवा लिएकोमा २०८२/०८३ मा यो संख्या बढेर ४ हजार ५० पुगेको अस्पतालको तथ्यांक छ।

प्रसूति, शल्यक्रिया र डायलाइसिस सेवा विस्तार

अस्पतालले सामान्य प्रसूति, सिजेरियन सेक्सन र असिस्टेड भ्याजाइनल डेलिभरीसहितको प्रसूति सेवा प्रदान गर्दै आएको छ। शल्यक्रियातर्फ मेजर, इन्टरमिडिएट र माइनर सर्जरी सेवा सञ्चालनमा छन्।

अस्पतालमा हेमोडायलाइसिस सेवा पनि उपलब्ध छ। आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ३ हजार ५८५ साइकल हेमोडायलाइसिस सेवा प्रदान गरिएको छ। परिवार नियोजन, सुरक्षित गर्भपतन तथा एआरटी सेवा पनि सञ्चालनमा रहेको डा. अधिकारीले प्रस्तुत गरेको विवरणमा उल्लेख छ।

आधुनिक उपकरण थप्ने योजना

अस्पतालले आगामी दिनमा सीटी स्क्यान, एनमाली स्क्यान, फिटल इकोकार्डियोग्राफी, एसएनसीयू तथा मेडिकल आईसीयू सेवा विस्तार गर्ने योजना अघि सारेको छ। थप विशेषज्ञ सेवा ल्याउने, शल्यक्रिया तथा डायलाइसिस सेवा विस्तार गर्ने र प्रयोगशाला सेवा सुदृढ गर्ने योजना पनि अस्पतालको छ।

त्यस्तै इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) तथा डिजिटल प्रणाली सुरु गर्ने, एन्डोस्कोपी सेवा विस्तार गर्ने, आयुर्वेद सेवा सुदृढ गर्ने र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने योजना रहेको अस्पतालले जनाएको छ।

सामाजिक सेवामार्फत निःशुल्क उपचार

अस्पतालको सामाजिक सेवा इकाइमार्फत गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, विपन्न आकस्मिक बिरामी, विपद् प्रभावित तथा सीमान्तकृत समुदायका नागरिकलाई निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

गोरखा नगरपालिकासँगको सहकार्यमा नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ भने ओसीएमसीमार्फत लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिलाई स्वास्थ्य उपचारसहित आवश्यक सेवा निःशुल्क प्रदान हुँदै आएको छ।

१०० शय्याको अस्पताल बनाउने लक्ष्य

अस्पतालको आगामी प्रमुख योजनामध्ये ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गर्नु रहेको छ। त्यससँगै अस्पताललाई प्रदेशस्तरीय रेफरल अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

तर, लक्ष्य पूरा गर्न पर्याप्त जनशक्ति, पूर्वाधार तथा जग्गाको अभाव, बिरामीको बढ्दो चाप व्यवस्थापन, औषधि तथा औषधिजन्य सामग्रीको नियमित आपूर्ति र स्वास्थ्य बीमाको रकम समयमा प्राप्त नहुनुजस्ता चुनौती रहेको अस्पतालले जनाएको छ।

अन्तर्क्रिया कार्यक्रममा डा. शम्भु अधिकारीले अस्पतालले हाल प्रदान गरिरहेका सेवा र आगामी योजनाबारे जानकारी दिँदै सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पूर्वाधार, जनशक्ति र प्रविधिको विकास आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *