गोरखा। जिल्ला प्रहरी कार्यालय गोरखाले २०८० साल फागुनदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार प्रहरी कार्यालयले आपराधिक अनुसन्धान, अदालतको फैसला कार्यान्वयन, सामुदायिक साझेदारी, विपद व्यवस्थापन, ट्राफिक कारवाही, तथा प्राकृतिक सम्पदा सुरक्षासम्बन्धी विभिन्न उल्लेखनीय कार्यहरु सम्पन्न गरेको छ।
अपराध अनुसन्धानतर्फ, ४३३ वटा मुद्दा दर्ता भई २२६ वटा फर्छ्यौट गरिएको छ भने ३०४ जना प्रतिवादी पक्राउ गरिएको छ। फरार प्रतिवादी संख्या ९७ जना रहेको छ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत ६२६ जना पक्राउ गर्नुपर्नेमा हालसम्म १६५ जना (महिला ५, पुरुष १६०) पक्राउ परेका छन्। यसअन्तर्गत ११६ वर्ष ६ महिना १ दिनको कैद र रू. ४३,२५,४५५ बराबरको जरिवाना असुल गरिएको छ।
सामुदायिक प्रहरी साझेदारी अन्तर्गत २,३४६ वटा कार्यक्रम सञ्चालन गरी ४२,०९८ जनालाई प्रत्यक्ष लाभ दिइएको छ।
ठाडो उजुरीतर्फ ८७९ उजुरी दर्ता भई ७७१ वटा फर्छ्यौट गरिएको छ। हराएको मोबाइल खोजतलासमा ३७ वटा फेला पारेर बुझाइएको छ।
विपद व्यवस्थापन अन्तर्गत ३९ वटा घटनामा ११७ जना प्रहरी परिचालित भई १२ जना घाइते र ९ जनाको उद्धार गरिएको छ।
हराएका १९६ जनामध्ये १६७ जना फेला परेका छन् भने २९ जना अझै बेपत्ता छन्।
ट्राफिक कार्यतर्फ, विभिन्न १२,६६९ वटा सवारीसाधनमा कारवाही गरी रू. ९३,१९,००१ राजस्व संकलन गरिएको छ।
प्राकृतिक सम्पदाको सुरक्षा अन्तर्गत अवैध गिट्टी बालुवा बोक्ने १० सवारी नियन्त्रणमा लिइ १,७०,००० जरिवाना असुल गरिएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार यो प्रगति विवरण कार्यालयको जनमुखी सेवा, कानून कार्यान्वयन र शान्ति सुरक्षाको संरक्षणतर्फ निरन्तर प्रयासको प्रतिबिम्ब हो।
