गोरखाको सिरानचोक गाँउपालिका वडा नं. ३ हर्मी स्थित लुईटेल भच्चेक सडकखण्डमा बसले अचानक ठक्कर दिई फरार रहेका बस चालक गजुरीमा पक्राउ परेको छ ।
२०८० जेठ ३१ गते करिब साँझ ५ः३० बजेको समयमा पालुङटार नगरपालिका वडा नं. ४ लुईटेल बस्ने ३२ बर्षको दिपक घर्तीले चलाएको ना १ ख ६४६५ नं. को बसले सिरानचोक ३ ठानेश्वर बस्ने ७८ बर्षकी पुतली सार्कीलाई अचानक ठक्कर दिएको थियो । दुर्घटनामा पुतली सार्कीको घटनास्थलमा नै मृत्यु भएको थियो । तत्काल घटना पश्चात फरार रहेका बस चालक दिपक घर्तीको खोजतलास गर्ने क्रममा मिति २०८०।०३।०३ गते ईलाका प्रहरी कार्यालय गजुरीको सहयोगमा धादिङ गजुरी गाँउपालिका वडा नं. ५ घाटबेशीबाट हिजो पक्राउ गरिएको हो ।
जिल्ला अदालत गोरखाबाट हिरासतमा राखि अनुसन्धान गर्न म्याद थप गरी अनुसन्धान कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

