गोरखामा लोकतान्त्रिक खेलकुद संघको नयाँ नेतृत्व: शिवराम श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन

समाचार

 

गोरखा, साउन १, २०८२ । नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको नेतृत्वमा नयाँ समिति चयन भएको छ। गोरखा सदरमुकाममा आज सम्पन्न भेलाले शिवराम श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

नेपाली काँग्रेस पार्टी कार्यालयमा सम्पन्न भेलाले सचिवमा गोरखा नगरपालिका–११ निवासी रेन कुमार थापा मगर र उपाध्यक्षमा गोरखा नगरपालिका–९ निवासी तुलबहादुर गुरुङलाई जिम्मेवारी दिएको छ। त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अध्यक्षमा गण्डकी गाउँपालिका–२ का प्रकाश गुरुङ र क्षेत्र नम्बर २ को अध्यक्षमा अजिरकोट गाउँपालिका–४ का प्रविण गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन्।

संघको बाँकी संरचना साउन १३ गते आयोजना हुने बृहत भेलाबाट पूर्ण गरिने सहमति भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

केन्द्रीय प्रतिनिधिका रूपमा क्षेत्र नम्बर १ बाट आरुघाट गाउँपालिका–२ का रमेश गुरुङ, गोरखा नगरपालिका–६ का दिपेन्द्र श्रेष्ठ र शहिदलखन गाउँपालिका–६ की स्मृती गुरुङ चयन भएका छन्।

त्यस्तै, क्षेत्र नम्बर २ तर्फबाट अजिरकोट गाउँपालिका–४ का प्रेम तामाङ, सिरानचोक गाउँपालिका–६ का हरीकुमार थापा र सिरानचोक गाउँपालिका–१ की सुनिता गैरै रम्तेल केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।

नव–निर्वाचित पदाधिकारीहरूलाई नेपाली काँग्रेस गोरखा जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले खादा ओढाई सम्मान गरेका थिए।

नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काँग्रेसको भातृ संस्था हो, जसले खेलकुदको माध्यमबाट लोकतान्त्रिक मूल्य र विचार प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *