गोरखा डान्स स्टार सिजन–३ को फाइनल साउन २४ गते हुँदै

समाचार

गोरखा, साउन १६

गोरखा डान्स एकेडेमी र दारी ग्याङ गोरखाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको गोरखा डान्स स्टार सिजन–३ को फाइनल अडिसन यही साउन २४ गते शनिबार हुने भएको छ। फाइनल कार्यक्रम गोरखा सदरमुकामको नयाँबजारस्थित गोरखकाली चलचित्र हलमा बिहान १० बजे देखि सुरु हुने आयोजकले जानकारी दिएका छन्।

गत बैशाख २२ गतेबाट सुरु भएको प्रतियोगितामा खुला एकल तथा सामूहिक विधामा स्थानीय तह र जिल्ला स्तर हुँदै प्रतिस्पर्धा हुँदै आएको छ। गोरखा डान्स एकेडेमीका अध्यक्ष अजय विकका अनुसार १५ टिम फाइनलमा प्रवेश गरेका छन्।

उनले प्रतियोगिताको उद्देश्य गाउँगाउँमा लुकेको कला र संस्कृतिलाई उजागर गर्नुका साथै त्यसलाई संरक्षण गर्दै युवाहरूलाई नृत्यमार्फत भविष्य निर्माणतर्फ प्रेरित गर्नु रहेको बताए।

गत जेठ १५ गते सम्पन्न जिल्ला स्तरीय छनोट प्रतिस्पर्धामा ११ स्थानीय तहका ३६० जनाको सहभागिता रहेको थियो। त्यसमध्ये उत्कृष्ट १२ टिम फाइनल अडिसनमा पुगेका हुन्।

दारी ग्याङ गोरखाका सहसचिव दिनेश विकका अनुसार, प्रतियोगितामा विजयी हुने टोलीले नगद ५० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

कार्यक्रमका लागि प्रवेश शुल्क १०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक गोरखा नगरपालिका रहेको छ भने अन्य पालिका तथा संघसंस्थाले समेत सहयोग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *