गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

समाचार

गोरखा ।
बडादसैंको फूलपाती पर्वको अवसरमा सोमबार गोरखा दरबारको दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती पठाइएको छ।

शुभसाइत बिहान ७:३० बजे दरबारका सुसारेहरूले पूजा–अर्चना गरी फूलपातीसहितको डोली सरकारी गाडी (बा २ झ ३८८२) मार्फत पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए।

यसअघि गोरखा दरबारको दसैंघरदेखि बाजागाजासहित ¥याली निकालेर फूलपातीको विदाइ गरिएको थियो। गोरखाकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईका अनुसार गोरखाबाट पठाइएको फूलपाती आजै साँझ हर्षोल्लासका साथ हनुमानढोका दरबारमा भित्र्याइने परम्परा छ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौंबाट राजकाज सुरु गरेपछि हरेक वर्ष दशैंको सातौं दिन गोरखाबाट फूलपाती पठाउने चलन सुरु भएको मानिन्छ।

आजको कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरप्रमुख कृष्णबहादुर रानामगरलगायत स्थानीय नेतृत्व उपस्थित थिए।

बिगतमा गोरखाबाट धादिङको जीवनपुरसम्म पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म ब्राह्मणहरूले ल्याउने परम्परा रहेको भए पनि २०४६ सालपछि सवारीसाधनमार्फत फूलपाती पठाउने प्रथा सुरु भएको हेरचाह अड्डाका प्रमुख पाठकले बताए।

जमल पुगेको फूलपातीलाई हनुमानढोकासम्म निजामती सेवाका उच्च अधिकारी, गुर्जुका पल्टन, व्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करसाथ लैजाने गरिन्छ।

यस वर्ष गोरखा दरबार र हनुमानढोका दरबार दुवैमा फूलपाती आज साँझ ४:३० बजे भित्र्याइने कार्यक्रम तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *