गोरखा । गोरखा सदरमुकाम नजिकै नयाँसाघु बजारमा आगामी असोज २२ गतेदेखि कात्तिक २ गतेसम्म १२ दिनसम्म ‘तिहार सस्तो मेला–२०८२’ आयोजना हुने भएको छ ।
दरौदी सृजनशील महिला समूहको आयोजनामा हुने मेलामा करिब १०० वटा स्टल रहनेछन् । स्थानीय उत्पादन, कला–संस्कृति, जातीय भेषभूषा र घरेलु सामानहरूको प्रदर्शनी तथा बिक्री हुनेछ । साथै, बाल उद्यान, पिङ र विभिन्न मनोरञ्जन सामग्रीको व्यवस्था समेत गरिने छ ।
आयोजकका अनुसार मेलामा करिब ३० हजार दर्शक आउने र २१ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । मेला अवधिभर करिब २६ लाख खर्च हुने अनुमान गरिएको छ ।
मेलामा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि ७५ रुपैयाँ टिकट तोकिएको छ । लोक दोहोरी प्रतियोगिता गरिने जसमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८०, ४० र २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाउनेछन् । राष्ट्रिय स्तरका कलाकारहरूले समेत प्रस्तुती दिने आयोजकहरूले जनाएका छन् ।
