दुर्गा प्रसाई नेतृत्वको समूहसँग सरकारले पहिलो पटक संवाद, २६ बुँदे मागपत्र गृहमन्त्रीलाई बुझायो

समाचार

काठमाडौं । सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियान बीच पहिलो पटक औपचारिक संवाद भएको छ। बुधबार अभियानका प्रतिनिधिमण्डलले सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी विस्तृत कुराकानी गरेका हुन्।

प्रसाईका तर्फबाट प्रेम थापा मगर, प्रमदीप लिम्बु, देवी प्रसाद संग्रौला, माधवप्रसाद खतिवडा, तेजेन्द्र रायमाझी र मकबुल शाह सहभागी थिए। उनीहरूले भेटका क्रममा गृहमन्त्री अर्याललाई २६ बुँदे मागपत्र बुझाएका छन्।

मागपत्रमा हालको राजनीतिक संरचना परिवर्तन गरी नयाँ व्यवस्था ल्याउने, नेपाललाई पुनः हिन्दुराष्ट्र घोषणा गर्ने, गरिब जनताको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने, त्यसभन्दा बढी ऋण पाँच प्रतिशत ब्याजदरमा २५ वर्षभित्र तिर्न सक्ने व्यवस्था गर्नेजस्ता प्रस्तावहरू समावेश छन्।

छलफलका क्रममा अभियानका प्रतिनिधिहरूले सरकारले पहिलो पटक आफ्ना मागहरू सुन्ने अवसर प्रदान गरेको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले संवादलाई सकारात्मक कदमका रूपमा लिँदै अबका दिनमा मागहरू कार्यान्वयनका लागि सरकारसँग निरन्तर छलफल अघि बढाउने बताएका छन्।

यसअघि दुर्गा प्रसाई नेतृत्वको समूहले संविधान खारेज गरी नयाँ संरचना ल्याउने, राजसंस्था पुनःस्थापना गर्ने, प्रदेश प्रणाली खारेज गरी अञ्चल प्रणाली पुनःस्थापना गर्ने लगायतका राजनीतिक, आर्थिक र सामाजिक मागहरू राख्दै २७ बुँदे मागपत्र सार्वजनिक गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *