नेपाल–भारत सीमावर्ती वीरगन्जमा सम्भावित साम्प्रदायिक तनावलाई ध्यानमा राख्दै सोमबार बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटलाई चार किल्ला तोकी निषेधाज्ञा लागू गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवस्था नियन्त्रणमा राख्न सेना र ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ‘नितान्त व्यक्तिगत’ विषयमा सुरु भएको विवाद साम्प्रदायिक रूप लिन सक्ने संकेत पाएपछि कर्फ्यू जारी गरिएको प्रहरीको भनाइ छ।
यसअघि गौरमा विवाह समारोहसँग सम्बन्धित विवादपछि दुई समुदायबीच तनाव बढ्दा कर्फ्यू लगाइएको थियो। अवस्था सामान्य बनेपछि सोमबार बिहान १० बजेदेखि त्यहाँको कर्फ्यू हटाइएको छ। रौतहटमा पूर्ववडाध्यक्षसहित २३ जना पक्राउ परेका छन्।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति–सद्भाव कायम राख्न आग्रह गरेको छ। अत्यावश्यक सेवा र स्वास्थ्य सेवामा भने सहजीकरण गरिने जनाइएको छ।
