गोरखा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लामा कुल २ लाख २९ हजार ५८ जना मतदाताले मतदान गर्ने भएका छन्। जिल्ला निर्वाचन कार्यालय गोरखाले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार जिल्लाका सबै ११ स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिएको हो।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा क्षेत्र नं. १ मा १ लाख २० हजार ५२५ जना र क्षेत्र नं. २ मा १ लाख ८ हजार ५३३ जना मतदाता रहेका छन्। सूचना अधिकारी रबिलाल सुबेदीका अनुसार कुल मतदातामध्ये १ लाख १४ हजार ८३७ जना पुरुष, १ लाख १४ हजार २२० जना महिला र १ जना अन्य मतदाता रहेका छन्।
क्षेत्रगत विवरण
भौगोलिक रूपमा ठूलो र जनघनत्व बढी भएकाले क्षेत्र नं. १ मा क्षेत्र नं. २ भन्दा बढी मतदाता रहेका छन्। क्षेत्र नं. १ अन्तर्गत चुमनुब्री, धार्चे, आरुघाट, भिमसेन थापा, गण्डकी गाउँपालिका तथा गोरखा नगरपालिकाका वडा नं. १ देखि ७ सम्म पर्दछन्। क्षेत्र नं. २ अन्तर्गत बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक, पालुङटार तथा गोरखा नगरपालिकाका वडा नं. ८ देखि १४ सम्मका क्षेत्र समेटिएका छन्।
स्थानीय तहअनुसार मतदाता संख्या
जिल्लाको सदरमुकाम रहेको गोरखा नगरपालिकामा सबैभन्दा बढी ३७ हजार ३५४ जना मतदाता रहेका छन्। वडा नं. १–७ मा १९ हजार १८३ र वडा नं. ८–१४ मा १८ हजार १७१ मतदाता छन्।
सबैभन्दा कम मतदाता संख्या चुमनुब्री गाउँपालिकामा रहेको छ, जहाँ ५ हजार २३१ जना मतदाता छन् (२ हजार ६३६ पुरुष र २ हजार ५९५ महिला)। भौगोलिक विकटता, बसाइँसराइ र कम जनघनत्वका कारण त्यहाँ मतदाता संख्या न्यून रहेको सरोकारवालाहरूको भनाइ छ। युवापुस्ताको वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिने प्रवृत्तिले ग्रामीण क्षेत्रमा मतदाता संख्या स्थिर वा घट्दो अवस्थामा रहेको विश्लेषण गरिएको छ।
दोस्रो धेरै मतदाता रहेको पालुङटार नगरपालिकामा ३४ हजार १३१ जना मतदाता छन्। त्यसैगरी गण्डकी गाउँपालिकामा १९ हजार ५७६, शहिद लखन गाउँपालिकामा २५ हजार १६२, आरुघाट गाउँपालिकामा १९ हजार २६२, भिमसेन थापा गाउँपालिकामा २१ हजार १८, सिरानचोक गाउँपालिकामा २२ हजार २६०, बारपाक सुलिकोट गाउँपालिकामा २० हजार ६८८ र अजिरकोट गाउँपालिकामा १३ हजार २८३ जना मतदाता रहेका छन्।
मतदान केन्द्र र सुरक्षा व्यवस्था
जिल्लामा कुल २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र तोकिएका छन्। क्षेत्र नं. १ मा १३१ मतदान स्थल र १८१ मतदान केन्द्र तथा क्षेत्र नं. २ मा ९४ मतदान स्थल र १५० मतदान केन्द्र रहेका छन्।
तीमध्ये ८३ मतदान स्थल अतिसंवेदनशील, १३० संवेदनशील र ११ सामान्य श्रेणीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। सुरक्षाको दृष्टिकोणले विशेष निगरानी र व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
उम्मेदवारी र राजनीतिक प्रतिस्पर्धा
दुवै क्षेत्रमा गरी कुल २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १२ जना र क्षेत्र नं. २ मा दुई स्वतन्त्रसहित १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
स्थानीय तहगत अवस्थालाई हेर्दा हाल ९ वटा स्थानीय तहमा नेकपाको नेतृत्व रहेको छ भने दुई स्थानीय तहमा नेपाली काँग्रेस विजयी भएको छ। तर वर्तमान राजनीतिक समीकरणअनुसार नेकपा, काँग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।




