हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

समाचार

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको पुष्टि भएको छ। घटनापछि ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको जनाइएको छ।

शनिबार राति घरमै रहेका बेला जंगलबाट बस्तीमा पसेको ध्रुवेले अचानक आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए। हात्ती धपाउने प्रयासमा आशिकाका श्रीमानले आगो बाल्दा घरमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको पनि जनाइएको छ।

यस घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यसअघि २०७४ सालमा नेपाली सेनाका एक मेजरको ज्यान लिएपछि झन्डै नौ वर्षसम्म ध्रुवेबाट कुनै मानवीय क्षति भएको थिएन। पछिल्ला केही वर्षदेखि निकुञ्जको सुखीभार क्षेत्रमा बसोबास गर्दै आएको ध्रुवे कहिलेकाहीँ मेघौलीलगायत आसपासका बस्तीमा पनि पुग्ने गरेको स्थानीयले बताएका छन्।


ध्रुवे चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मानवीय क्षति पुर्‍याउने जंगली हात्तीका रूपमा परिचित छ। २०६८/०६९ सालतिर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि २०६९ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले ध्रुवेलाई नियन्त्रणका लागि मार्ने निर्णयसमेत गरेको थियो। त्यसका लागि नेपाली सेनाले लामो समयसम्म खोजी अभियान चलाए पनि ध्रुवे नियन्त्रणमा आउन सकेन।

निकुञ्ज प्रशासनले ध्रुवेको गतिविधि निगरानी गर्न घाँटीमा रेडियो कलर जडान गर्ने, दाह्रा काट्ने तथा डार्टमार्फत बेहोस बनाएर उत्तेजना कम गर्ने औषधिसमेत प्रयोग गरेको थियो। केही समय शान्त देखिएको ध्रुवेले पुनः मानवीय क्षति पुर्‍याएपछि निकुञ्ज आसपासका बासिन्दामा त्रास फैलिएको छ। घटनापछि निकुञ्ज प्रशासनले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *