गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
असार ३२ गते दिउँसो करिब १ बजे मलामी गएका अजिरकोट गाउँपालिका–४ झ्यावाँ निवासी करिब ४० वर्षीय शम्शेर नेपाली दरौदी नदीमा नुहाउने क्रममा अचानक बगेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट चनौटे र इलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी टोली परिचालन गरी खोजतलास गरिएको थियो। पहिलो दिन खोजी कार्य स्थगित गरिए पनि त्यसपछिका दिनहरूमा निरन्तर खोजी जारी राखिएको थियो।
प्रहरीका अनुसार साउन ६ गते बिहान करिब ९:३० बजे गोरखाको सिरानचोक गाउँपालिका–७ अन्तर्गत दरौदी नदी किनारमा एक पुरुषको शव फेला परेको थियो। मृतकका छोरा सुनिल नेपालीले शवको पहिचान आफ्ना पिता शम्शेर नेपालीको रूपमा गरेका छन्।
