गोरखाको भिमसेन थापा गाउँपालिका–१ स्थित दुल्लभ माध्यमिक विद्यालयका विषयमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा उठेका विषयलाई लिएर गाउँपालिकाले सरोकारवालासँग समन्वयात्मक छलफल गरी ६ बुँदे निर्णय गरेको छ। उक्त निर्णय विद्यालय व्यवस्थापन समिति, पूर्व तथा वर्तमान पदाधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य सरोकारवालाको उपस्थितिमा गरिएको हो।
निर्णयअनुसार विद्यालयमा विगतमा भएका गतिविधिबारे खुला छलफल गरिएको छ भने प्रधानाध्यापक परिवर्तनसँग सम्बन्धित बाँकी जिन्सी तथा आर्थिक हिसाबकिताब ७ दिनभित्र मिलान गर्ने, आवश्यक परे प्रहरी प्रशासनको सहयोग लिने तथा गाउँपालिकाले प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी विद्यालयका विषयमा सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी नगर्न, पहिले राखिएका भ्रामक वा विवादास्पद सामग्री तत्काल हटाउन र आगामी दिनमा यस्ता गतिविधि नगर्न आग्रह गरिएको छ।
विद्यालय प्रशासन, व्यवस्थापन समिति र प्रधानाध्यापकसँग सम्बन्धित विवाद आपसी संवादबाट समाधान गर्ने तथा २०८३ साउन १४ गते बस्ने गाउँ कार्यपालिकाको बैठकले आवश्यक थप निर्णय गरी कार्यान्वयनका लागि निर्देशन दिने निर्णय पनि गरिएको छ।
यस्तै, विद्यालयको बैंक खाता व्यवस्थापनलाई व्यवस्थित गर्दै अन्य बैंकका खाता बन्द गरी NIMB बैंकको खाता मात्र सञ्चालन गर्ने, साथै विद्यालयका सबै महत्वपूर्ण कागजात सुरक्षित राखी आवश्यक परे सम्बन्धित निकायलाई उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।


