गोरखा।
गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित दिन्द्रुक खोलामा सुक्खा पहिरो खस्दा करिब २०० मिटर लामो ताल बनेको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक २० गते दिउँसो करिब १२ः४० बजे लार्के बजारबाट करिब २.५ किलोमिटर उत्तरमा पर्ने लार्के बजार धर्मशालाको बीचमा बग्ने दिन्द्रुक खोलामा करिब ३० मिटर माथिबाट सुक्खा पहिरो खसेको हो।
पहिरो खोलासम्मै पुगेर खोला थुनिएपछि करिब २०० मिटर लम्बाइमा ताल बनेको छ। हाल उक्त तालको पानी खोलाको किनारबाट बगिरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सामागाउँ, गोरखाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) कनैया लाल बारीको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। सशस्त्र प्रहरी बलको टोलीसमेत घटनास्थलमा पुगेको छ।
उक्त स्थान प्रहरी चौकी सामागाउँबाट करिब १० किलोमिटर उत्तर–पश्चिममा पर्दछ।
प्रहरीका अनुसार हालसम्म घटनाबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
