पालुङटारमा ‘रेडबुल’ बिक्रीमा प्रतिबन्ध, नक्कली ध्यू पनि नियन्त्रणमा

समाचार

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले ‘ईन्रर्जी ड्रिंक रेडबुल’लाई करछली गरेर अवैध रूपमा भित्रिने गरेको भन्दै बिक्री–वितरणमा रोक लगाएको छ ।

नगरपालिकामा असोज १० गते उपभोक्ता हित संरक्षण समितिको बैठक बसेर निर्णय गरेपछि पालिकाले जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालय ठाँटापोखरीलाई पत्राचार गरी कार्यान्वयनमा सहयोग मागेको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । साथै, पालिकाले नगरक्षेत्रभित्र इजाजतविना पोके व्यवसायीमार्फत कुनै पनि सामान बिक्री–वितरण गर्न नपाइने निर्णय पनि गरेको छ ।

त्यसैगरी, सोही बैठकले पोखरास्थित सुभम् बेकरीद्वारा उत्पादित ध्यू नक्कली भेटिएपछि बिक्रीमा रोक लगाएको छ । उक्त कम्पनीबाट उत्पादित ध्यू को बिक्री मूल्य ३५० लेखिएको भएतापनि माथीबाट स्टिकर टाँसेर २८० रुपैयाँ मूल्य निर्धारण गरी बिक्री गर्दा जम्मा ९० रुपैयाँमा हुने गरेको भेटिए लगत्तै सबै ध्यू नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका ध्यू नमुनाहरू खाद्य प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र प्रतिवेदन नआएसम्म बिक्रीमा रोक कायम रहने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार अनुगमन समितिले सो ध्यू उत्पादक कम्पनीलाई तत्काल जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्राचार गरेको छ ।

जिल्ला प्रशासनले ध्यूमा कैफियत देखिएपछि गोरखा जिल्लाभर रहेका सबै स्टक नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *