विराज त्रिपाठी
असार २५ नेपालमा सती प्रथाको अन्त्य भएको आज एक सय दुई वर्ष पूरा भएको छ ।
श्रीमान्को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने ‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको आज १०२ वर्ष पूरा भएको छ । २५ असार १९७७ सालमा चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए।
१९१० मै जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेसँगै यो प्रथालाई केही बन्देज लगाउने प्रावधान राखे । मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्ष मुनिका छोराछोरी हुनेले पनि सती प्रथा जानु नपर्ने व्यवस्था गरिएको थियो।
मुलुकी ऐनमा केही व्यवस्था थप गर्दै वीर शमशेरले १९४४ सालमा ‘सती प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’ नै जारी गरे। जसमा गर्भ रहेको एक महीना मात्रै भएको अवस्थामा श्रीमान्को मृत्यु भएमा सती जान नदिनु, बच्चा जन्मेपछि सती जान्छु भनेमा जान नदिनु भन्ने जस्ता व्यवस्था गरिएको थियो ।
इतिहास
प्राचीन हिन्दू समाजमा खासगरी शासकवर्गमा राजा महाराजाहरूमा मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो। राजाको मृत्यु भइसकेको र श्रीमानको शवसँग चितामा जीवित जल्नु–जलाइनुपूर्व निजले दिने श्राप नै सतीश्राप हो। समाजमा यस प्रकारको सतीप्रथा कहिलेदेखि चल्यो ? निश्चित भन्न सकिन्न। हिन्दूधर्मका अति प्राचीन ग्रन्थहरूमा सतीप्रथाको वर्णन पाइन्न र यदाकदा चर्चा पाइन्छ तर त्यसबेला सती जान बाध्यात्मक थिएन।
राजा महाराजाहरूको मृत्युपछि मृतककी रानीहरुलाई श्रीमान्को शव (लाश) सँगै अथवा अर्को चितामा सुताइन्थ्यो। यसमा राजनीतिक कारणले कुन रानीलाई सती पठाउने कुन रानीलाई नपठाउने भन्ने बारेमा पनि दाउपेच चल्ने गरेको इतिहास पाइन्छ। सती जानु अर्थात् मृतक श्रीमानसंग जीवितै चितामा जल्नुलाई सतीधर्म मानिन्थ्यो। भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका वाग्मती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा सती जाने गरिन्थ्यो।




