जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय सिन्जो आबेलाई शुक्रबार बिहान ११ः३० बजे देशको पश्चिमी भाग नारामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पछाडिबाट गोली हानिएको थियो।
आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको रूपमा पहिचान भएको छ । उनले प्रहरीसँगको कुराकानीमा आफू आबेसँग असन्तुष्ट भएको र उनलाई मार्न चाहेको बताएका छन् । यो कुरा रोयटर्स समाचार एजेन्सीले बताएको छ ।