गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार अविवाहित भट्ट साउन ४ गते दिनको समयमा घर नजिकैको बारीमा काम गर्न गएका थिए। रातिसम्म घर नफर्किएपछि परिवारले खोजी गरेको थियो।
बिहीबार बिहान उनका बुबा लेखनाथ भट्टले घरदेखि करिब १०० मिटर पूर्व, कोयापानीदेखि धावा जाने भित्री सडकखण्डबाट करिब दुई मिटर तल झाडीमा उनलाई उत्तानो परेको अवस्थामा मृत फेला पारेका हुन्।
घटनाको जानकारी वडा अध्यक्षमार्फत बिहान करिब ८ बजे प्रहरी चौकी घ्याम्पेशालमा पुगेपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले आवश्यक मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि आरुघाट अस्पताल पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
