चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा करिब ३३ जना यात्रु घाइते भएका छन्।
बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक सवारीसाधन हटाएपछि दुवैतर्फ सञ्चालनमा आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
