काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली समाजले विज्ञानको महत्व बुझ्न नसकेको बताएका छन्।

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले विज्ञानको विकास अध्ययनमा अघि बढ्नुपर्ने समाज रुढीवादी संस्कारमा अल्झिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
भट्टराईले असोज १ गतेलाई आफूले विज्ञान दिवस मनाउने भनेर सुरुआत गरे पनि अहिले नागपञ्चमीका नाममा सर्प पूजा गर्न लागेको भन्दै आक्रोश पोखे। उनले नाग पञ्चमीका नाममा सर्प पुज्ने गरिएको तर विज्ञान दिवस मनाउन छाडिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। 
उनले विज्ञानको महत्व के हो भन्नेमा अहिले पनि नेपाली समाजको ध्यान नगएको बताए। उनले भने, ‘अध्ययन अनुसन्धान वैज्ञानिक ढंगले गर्ने हो भने विज्ञान र प्रविधिलाई ध्यान दिनुपर्छ भनेर असोज १ गतेलाई विज्ञान दिवस भनेर शुरुआत गरेको थिएँ, तर मलाई दुःख लाग्छ, त्यो विज्ञान दिवस कसैले पनि सम्झिँदैनन् र कसैले पनि मनाउँदैनन्। नागपञ्चमी बरु सर्पको फोटो टास्ने दिनलाई धुमधाम मनाउँछौं पूजा गर्छौं। तर, विज्ञानको महत्व के हो भन्नेमा अहिले पनि हाम्रो ध्यान गएको छैन।’

उनले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले कहिले पनि प्रगति गर्न नसक्ने बताए।
