विराज त्रिपाठी
१६ असोज, गोरखा । गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका पठाइएको छ । आइतबार बिहान आठ बजे दशैं घरबाट निकालिएको फूलपाती बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो ।
गोरखकाली मन्दिरका पुजारी, सुसारेहरुले तयार गरेको फूलपाती पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । गोरखा दरवारबाट पुजापाठ गरेर पठाएको फुलपाती अहिले गाडीमा पठाउने गरिँदै आइएको छ । पहिले मानिसले बोकेर लैजाने प्रचलन थियो ।
नेपाल एकीकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखकाली मन्दिरको दशैंघरबाट हनुमानढोका दरवारमा भित्र्याउने परम्परा सुरु गराएका थिए ।
दरवारस्थित दशैं घरबाट मालश्री धुन र धिमे बाजागाजासहित फुलपाती सहितको डोली निकालिएको थियो ।
